स्वास्थ्य संस्थामा औषधि अभाव बिरामीलाई समस्या

  ०७४ भदौ १० गते

तेह्रथुमका विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएपछि बिरामीहरूको उपचारमा समस्या भएको छ ।

पछिल्लो समय विभिन्न गाउँहरूमा भाइरल ज्वरोले बिरामी हुनेहरूको सङ्ख्या अत्याधिक रहेपनि स्वास्थ्य संस्थाहरूमा औषधि नहुँदा बिरामीहरूलाई जिल्ला अस्पतालमा 'रिफर' गर्नु परेको स्वास्थ्य संस्थाका इञ्चार्जहरूले बताएका छन् ।

भाइरल ज्वरोको प्रकोप बढेको स्थानमा औषधिसहित स्वास्थ्य टोली पठाउनु पर्ने भएपनि जिल्ला अस्पतालकै स्टोरमा औषधि सकिएकोले स्वास्थ्यकर्मीको टोली पठाउन नसकिएको जिल्ला अस्पतालका डाक्टर मुक्तिनाथ साहले बताए । उनका अनुसार औषधि अभाव भएको बारे विभाग र क्षेत्रमा जानकारी गराइएको भए पनि औषधि आइनपुगेको हो ।

जिल्ला अस्पतालको इमेरजेन्सी कक्षमा मात्र दैनिक सयौँको सङ्ख्यामा बिरामीहरू उपचारका लागि आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालबाट ७० र स्वास्थ्य चौकीहरूबाट ३५ ओटा औषधि निःशुल्क वितरण गरिनु पर्ने भएपनि अहिले औषधि नभएकोले बिरामीहरूले फार्मेसीहरूबाट औषधी किन्नु पर्ने बाध्यता रहेको बिरामीका आफन्तहरूले बताएका छन् ।


भगिश्वर लिम्बू