स्वास्थ्य संस्थामा औषधिको अभाव, सेवाग्राही प्रभावित

  ०७३ भदौ १८ गते

डोल्पाका स्वास्थ्य संस्थामा अत्यावश्यक जीवनरक्षक औषधिको अभाव भएको छ । जिल्लाका २३ गाविसमा रहेका १४ ओटा स्वास्थ्यचौकी, नौ प्राथमिक स्थास्थ्य केन्द्र र चार ओटा प्रसुती गृह र एउटा जिल्ला अस्पतालमा औषधिको अभाव भएको हो ।

जिल्लाका स्वास्थ्य संस्थाहरूमा कोट्रिम, भिटामिन ए, ट्याब्लेट जिङ्क, जीवनजल, इञ्जेक्सन डिपोप्रोभेरा, पिल्स, अल्वेण्डाजोल, सिटामोल, मेट्रो, एन्टासीड, एमिनोफाइलीन, सालवुटामोल, एमोक्सिसिलीन, टेट्रासाइक्लिन, टिन्चर, क्यालामाइनलोसन, अक्सीटोसिन, स्काविजलोसन र आइव्रुफिन लगायतका औषधिको अभाव भएको हो ।

त्रिपुराकोट स्वास्थ्यचौकीका इञ्चार्ज अहेव अनन्त चौधरीले उल्लेखित औषधि विगत १५ दिनदेखि अभाव भएको र जिल्ला अस्पतालमा माग गरी पठाउँदासमेत जिल्लामा औषधि मौज्दात नभएकाले पठाउन नसकिएको जवाफ आएको बताए ।

करेलीकाँडाबाट सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी ल्याइएकी शान्ति लामालाई औषधिको अभावमा त्रिपुराकोट बगरमा रहेको त्रिपुरासुन्दरी निजी मेडिकलमा लानु परेको क्लजन लामाले गुनासो गरे ।

नेपाल सरकारले सुरक्षित प्रसुति सेवाको लागि प्रसुति सेवा गृहमा आएर सेवा लिनेहरूको लागि सुत्केरी भत्ताको व्यवस्था गरेको भएपनि औषधिको अभावमा सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छैनन् ।

जिल्ला अस्पताल डोल्पाका डा. श्रीकान्त अग्रवालले दुई हप्तादेखि औषधिको अभाव भएको र छिटो भन्दा छिटो औषधि पठाइदिन क्षेत्रीय मेडिकल स्टोर सुर्खेतलाई पत्रचार गरिसकिएको बताए ।

डोल्पाका स्वास्थ्य संस्थाहरूमा जीवनरक्षक औषधिको अभाव भएको यो पहिलो घटना नभएको स्थानीयबासीले बताएका छन् ।


विष्णुप्रसाद देवकोटा