स्वास्थ्य शिविरमा म्याद नाघेको औषधि वितरण

  ०७९ फागुन २२ गते

रेसुंगा नगरपालिकाले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा म्याद नाघेको औषधि वितरण गरेको पाइएको छ ।

रेसुंगा नगरपालिकाले चौराह हस्पिटल प्रालि बुटवलसँग सहकार्य गरेर फागुन २० गते स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा एमिजोय १० नाम गरेको औषधि म्याद नाघेको वितरण गरिएको हो । जनवरी २०२३ मा म्याद सकिएको औषधि  मार्च ४ वितरण गरिएको छ ।

रेसुंगा नगरपालिकाका विभिन्न वडाबाट वितरण गरिएको उक्त औषधि सङ्कलन भइरहेको छ । औषधि म्याद नाघेको वितरण भएको पाइएपछि चौतर्फी बिरोध सुरू भएको छ । अहिले वडागत रुपमा औषधि लिएर गएकाहरूको विवरण सङ्कलन र औषधि फिर्ता गर्ने काम भइरहेको रेसुंगा नगरपालिका– ८ का वडाध्यक्ष निरञ्जन थापाले जानकारी दिनुभयो ।

आफूले पनि वडाका दुई जनाको औषधि फिर्ता गराएको थापाले बताउनु भयो । रेसुंगा नगरपालिका–८ की हरिकला थापाले छोरीहरूलाई म्याद हेर्न लगाउँदा म्याद सकिएको थाहा पाएको प्रतिक्रिया दिनुभयो । ‘मैले आँखा कम देख्ने भएकाले छोरीहरूलाई हेर्न लगाएपछि औषधिमा म्याद थिएन । म जस्तै अरुले पनि औषधि लगेका होलान ।,’उहाँले भन्नु भयो,‘गम्भिर त्रुटि भएको छ ।’

रेसुंगा नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ति मगरले वडा नं २, ४, ८ र ९ बाट म्याद नाघेका औषधि भेटिएको बताउनु भयो । उहाँले चौराह हस्पिटलबाट औषधि वितरण भएकाले नगरसँग बास्तविक तथ्याङ्क नभएको प्रतिक्रिया दिनुभयो ।

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले अस्पतालको त्रुटीका कारण आफूहरू माथि प्रश्न उठिरहेको बताउनु भयो । उहाँले आजै स्पष्टीकरण सोधिएकाले जवाफ आएपछि थप प्रतिक्रिया र कारबाही अगाडी बढाउने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले वास्तविक अवस्था बाहिर ल्याउन नगरलाई अनुरोध गरेको बताउनु भयो ।

चौराहा हस्पिटल प्रालिका क्षितिज भण्डारीले एउटा औषधिमा समस्या देखिएको बताउनु भयो ।


टोपलाल अर्याल