स्वास्थ्य भवन सञ्चालनमा नल्याउदा सेवाग्राहीलाई समस्या

बुढिगंगा नगरपालिका–७ बड्लेलीचौरमा निर्माणधिन अवस्थामा रहेको आधारभूत स्वास्थ्य भवनको व्यवस्थापन तथा निर्माण कार्य ने अधुरो भएपछि यस क्षेत्रका सेवाग्राहीहरुले समस्या भोग्नु परेको छ ।

आधारभूत स्वास्थ्य भवन सञ्चालन नभएपछि साविकको झाली ब्रथिङ सेन्टरबाट सेवा प्रवाह गर्न समस्या भएको झाली ब्रथिङ सेन्टरका अहेव मीन कटुवालले बताउनु भयो । एउटै कोठाबाट ओपीडी सेवा, गर्भवती सेवा, नवजात शिशु स्याहार सहितका सवै सेवा सञ्चालन गर्नु पर्ने बाध्यताले सेवाग्राहीले समस्या भोग्नु परेको उहाँले बताउनु भयो ।

सुत्केरी भई सकेपछि २४ घण्टासम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्नु पर्ने भए पनि ठाउँ अभावका कारण एक घण्टा पनि नराखेर सुत्केरीलाई घर पठाउनु पर्ने बाध्यता रहेको र सुत्केरीलाई अन्य बिरामीहरुसँग राख्दा संक्रमण फैलने डर रहेको अहेव कटुवालको भनाइ छ ।

photo2240121Bajura (2)

उपभोक्त समिति मार्फत २०७६ सालमा ३८ लाख रुपियाँमा सम्झौता गरेर बुड्लेलीचौर स्वास्थ्य भावनको कामको थालनी भएको थियो । उपभोक्ता समितिले सम्झौता अनुसार काम नगरेपछि भवन अलपत्र अवस्थामा रहेको बुढिगंगा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुवनसिंह केसीले बताउनु भयो ।

उपभोक्ता समितिले १५ लाख रुपियाँ बराबरको काम गरेको बिलभौचर नगरपालिकामा पेश गरेका भए पनि  नगरपालिकाले ११ लाख मात्र भुक्तानी गरेको बुढिगंगा नगरपालिका ७ का वडाध्यक्ष केसीको भनाइ छ ।

निर्माण कार्य पुरा नभएर दुई वर्षसम्म अलपत्र अवस्थामा रहेको स्वास्थ्य भवनमा ०७७ सालमा मर्मतका लागि ११ लाख रुपियाँमा जगत समारीका जेवी निर्माण कम्पनीले ठेक्का मार्फत काम सुरु गरेको भए पनि ठेक्का कम्पनीले पनि काम नगरपछि स्वास्थ्य भवन अलपत्र अवस्थामा रहेको हो ।

स्वास्थ्य भवन निर्माणको अधिकांश काम सम्पन्न भए पनि विल उठाउन नगरपालिकाबाट प्राविधिक नपठाईदिएका कारण आफूले भुक्तानी पाउन नसकेको मर्मत ठेक्का पाएको कम्पनीका सञ्चालन सुरत शाहले  बताउनु भयो । नगरपालिका र निर्माण कम्पनीको ठेक्का सम्झौता गत वर्षको असारमानै सकिएको छ ।

photo2240121Bajura (1)

बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले आफूले नगरपालिकाको जिम्मेवारी पाउनु भन्दा अगाडि नै स्वास्थ्य भवनको काम सुरु भएकोले पछिल्लो अवस्थाका बारेमा आफूलाई जानकारी नभएको बताउनु भयो ।

उहाँले भन्नु भयो– के कति कारणले स्वास्थ्य सस्थाको भवन सञ्चालनमा आउन सकेन्? यसका बारेमा थप सूचना लिएर जानकारी गराउँछु ।

०७९ साल दशैमा काम सम्पन्न गर्ने सम्झौता भएको भए पनि काम पुरा नगरी नगरपालिकालाई कुनै जानकारी बिनै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले स्वास्थ्य भवनको उद्घाटन गर्नु भएको जानकारी पाइएको बुढीगंगा नगरपालिकालका प्राविधिक उपेन्द्र साउदले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जिल्ला आएको अनुकुल मिलाएर ०८० वैशाख १९ गते निर्माण पुरा नभएको स्वास्थ्य भवनको एक भब्य कार्यक्रमको आयोजना गरी उद्घाटन गर्नु भएको भए पनि अहिलेसम्म पनि सञ्चालनमा नल्याउँदा सेवाग्राहीहरुले सास्ती खेप्नु परेको प्राविधिक साउदले बताउनु भयो ।


पदमबहादुर सिंह