स्वास्थ्य बीमा नवीकरण, स्वास्थ्य सेवा पाउन सकस
सूर्योदय नगरपालिका-११ का ४४ वर्षीय खगेन्द्र आचार्य भदौ १० गतेदेखि ज्वरोले थलिनु भयो ।
स्वास्थ्य जाँच तथा उपचारका लागि उहाँ भदौ १२ गते स्वास्थ्य बीमा कार्ड बोकेर फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र पुग्नु भयो ।
जाँचपड्तालका क्रममा चिकित्सकले स्वास्थ्यमा जटिल समस्या देखिएकाले अन्यन्त्र गएर उपचार गर्न रिफर गरेपछि उहाँले स्वास्थ्य बीमा कार्ड देखाएर सिफारिसपत्र बनाउन आग्रह गर्नुभयो । स्वास्थ्य केन्द्रका कर्मचारीले सिफारिसपत्र बनाउने क्रममा कार्ड नवीकरण नभएको बताएपछि उहाँ छक्क पर्नुभयो ।
खगेन्द्र आचार्यले ०८० भदौ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बीमा कार्यक्रमका कर्मचारी(दर्ता सहयोगी) धनमाया आलेमार्फत् परिवारका पाँच जना सदस्यको ३ हजार ५ सय रुपियाँ तिरेर स्वास्थ्य बीमा नवीकरण गरेको बताउनु भयो ।
सेवाग्राहीले बीमा रकम तिरेर नवीकरण गरेको तर सिस्टममा नवीकरण नभएको देखाएपछि स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयमा बुझ्दा आचार्यको बीमा नवीकरण नभएको पाइयो ।
स्वास्थ्य बीमा दर्ता सहयोगीले बीमा नवीकरण बापतको रकम बुझ्ने तर स्वास्थ्य बीमा बोर्डमा नबुझाउँदा जिल्लामा स्वास्थ्य बीमा उपचारबाट वञ्चित हुनु परेको छ ।
स्वास्थ्य बीमित आचार्यले भन्नुभयो “स्वास्थ्य बीमा बोर्डको जिल्लामा रहेको कार्यालयमा बुझ्दा बीमा नवीकरण भएकै रहेनछ ।” उहाँले वडामा कार्यरत स्वास्थ्य बीमा कार्यक्रमका कर्मचारी (दर्ता सहयोगी) धनमाया आलेमार्फत नवीकरण गराउनु भएको थियो । “उपचारका लागि तत्काल जाने पैसा थिएन । घर आएर छरछिमेकीमा सहयोग मागेर अस्पताल गएर उपचार लिएँ ।” आचार्यले भन्नु भयो ।
सूर्योदय नगरपालिका-११ का ३ सय ५० देखि ४ सय परिवारले ०८० वैशाख र जेठ महिनामा स्वास्थ्य बीमा नवीकरण गर्न बुझाएको रकम दर्ता सहयोगीले स्वास्थ्य बीमा बोर्डमा नबुझाउँदा बीमितहरूले अहिले उपचारका लागि हारगुहार गर्नु परिरहेको छ ।
“हाम्रो वडाका धेरै जना ठगिएका रहेछौँ ।” बीमाबाट नियमित औषधि सेवन गरिरहनु भएकी ४१ वर्षीया निर्मला आचार्यले भन्नुभयो “मैले ढाडको औषधि खान थालेको तीन वर्ष भयो । सँधै बीमाको पैसा बेलैमा तिरेर निशुल्क दबाई खाने गरेको थिएँ । तर, यो पटक आठ हजारको औषधि किन्नु पर्यो ।” सोही टोलका ४८ वर्षीय ऋषि भट्टराई, ३५ वर्षीय तुलसा अधिकारी, ४० वर्षीय कमल आचार्य, ३६ वर्षीय तारानीधि ढकाल, ६० वर्षीय ख्याम अधिकारीलगायतका परिवारले बीमा नवीकरणको रकम तिरेर पनि स्वास्थ्य बीमाबाट स्वास्थ्य उपचार र औषधिबाट वञ्चित हुनु परेको छ ।
स्वास्थ्य बीमित ऋषि भट्टराईले भन्नुभयो- नयाँ बीमा र नवीकरण गर्न भनि रकम सङ्कलन गरिएको रकममध्ये ४० घरमुलीको नाम मात्र नवीकरण भएको छ । स्वास्थ्य बीमितले ०८० भदौ १ गतेबाट लागु हुने गरी बुझाएको बीमा रकम उक्त वडामा कार्यरत दर्ता सहयोगी धनमाया आलेले स्वास्थ्य बीमा वोर्डमा नबुझाउँदा आफूहरू स्वास्थ्य उपचार र औषधिबाट वञ्चित हुनु परेको पीडितहरूको आरोप छ ।
स्वास्थ्य बीमाका लागि नवीकरण गरेको तर, सेवा नपाएपछि स्वास्थ्य बीमितहरूले सूर्योदय नगरपालिका-११ वडा कार्यालय र तीनघरे प्रहरी चौकीमा भदौ १३ गते निवेदन दिएका छन् । स्वास्थ्य बीमितहरूले भदौबाटै बीमा कार्यक्रमको सुविधा पाउनु पर्ने र दर्ता सहयोगी आलेलाई कारवाहीको माग गर्दै वडा कार्यालय र प्रहरीमा उजुरी दिएको तारानीधि ढकालले बताउनु भयो ।
स्वास्थ्य बीमा दर्ता सहयोगी धनमाया आलेले नवीकरणका लागि रसिद काट्दा कुनै पुरानो रसिद दिएको, कसैको रसिदमा गत वर्षको मिति उल्लेख गरेको पाइएको पीडित ढकालले बताउनु भयो । पीडित ढकालले स्वास्थ्यजस्तो सम्वेदनशील बिषयमा खेलवाड गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र आफूहरूको बीमा सुचारु हुनुपर्ने बताउनु भयो ।
स्वास्थ्य बीमा कार्यालय जिल्लाका कार्यबहाक कार्यालय प्रमुख जानुका शर्माले सूर्योदयन गरपालिका-११ मा कार्यरत दर्ता सहयोगी धनमाया आलेले बीमितबाट नवीकरणका लागि सङ्कलन गरेको रकम र कागजातहाल भदौको दोस्रो सातासम्म पनि जिल्लामा नपठाएको बताउनु भयो । शर्माले दर्ता सहयोगीले लापरबाही गरेका कारण स्वास्थ्य बीमितहरू सेवा सुविधाबाट वञ्चित हुनु परेको बताउनु भयो ।
३ हजार ५ सय रुपियाँका दरले स्वास्थ्य बीमितबाट सङ्कलन गरिएको रकम दर्ता सहयोगी धनमाया आलेले स्वास्थ्य बीमा वोर्डमा नबुझाएपछि समस्या भएको स्वास्थ्य बीमा वोर्डको जिल्ला कार्यालयले जनाएको छ ।
स्वास्थ्य बीमा दर्ता सहयोगी आले स्वास्थ्य बीमा कार्यालयको सम्पर्कमा समेत नआएको स्वास्थ्य बीमा कार्यालय प्रमुख जानुका शर्माले बताउनु भयो । शर्माले भन्नुभयो “रकम आयो भने पुरानो रसिद काटेर इन्ट्री गराउनका लागि आइटीसँग कुरा भएको छ तर , रकम आउने टुङ्गो भएन ।” स्थानीय स्वास्थ्य बीमा पीडितहरूले भने दर्ता सहयोगीले रकम बुझ्दा दिएको रसिदको अर्धकट्टी सङ्कलन गर्न थालेका छन् ।
दर्ता सहयोगी धनमाया आले सूर्योदय नगरपालिका-११ कै कर्मचारी हुन् । सूर्योदय नगरपालिका-११ का वडाध्यक्ष सन्तोष राईले आले वडाकै कर्मचारी भएको तर वडाको सम्पर्कमा समेत नभएको बताउनु भयो ।
सूर्योदय नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले कुनै पनि बहानामा सोझा जनतालाई ठगी गर्ने व्यक्ति वा गिरोह भए अनुसन्धान गरेर कारबाही गरिने बताउनु भयो । उहाँले भन्नुभयो “किसानले सागसब्जी बेचेर खाइनखाई बचाएको पैसा दुरूपयोग भएकोप्रति हामी गम्भीर भएका छौँ ।” नवीकरणका लागि तिरेको रकम समयमा दर्ता नगर्नुले औषधि उपचारमा मोटो रकम खर्चिनुपर्दा बीमितहरू मारमा परेका छन् ।
पछिल्लो समय जिल्लामा स्वास्थ्य बीमा कार्यक्रको प्रभावकारीता घट्दै गएको छ । बीमाको रकम हिनामिना गर्ने, समयमा नविकरण नगरीदिने , स्वास्थ्य संस्थाले चाहेको अस्पतालमा जान रेफर नदिने, पूर्जामा लेखिएको औषधि नपाइनेजस्ता समस्याले बीमा कार्यक्रमको प्रभावकारीता घट्दै गएको सूर्योदय नगरपालिकाका सामाजिक विकास समिति संयोजक डिक बम्जनले बताउनु भयो ।
सूर्योदय नगरपालिका-११ मा ४ सय बढी परिवारले स्वास्थ्य बीमा गराएका छन् ।
मनोज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…