स्वास्थ्य बीमाको प्रथम विन्दु भौगोलिक रूपमा टाढा हुँदा नागरिक प्रभावित

बागलुङमा स्वास्थ्य बीमा लागु भएको सात वर्ष पुगिसकेको छ । स्वास्थ्य बीमा जोडिनेको संख्या बढ्दै गएपनि प्रभावकारी कार्यान्वयन नहुँदा बीमितहरु प्रभावित बनेका छन् । चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बागलुङमा स्वास्थ्य बीमाको प्रथम विन्दु स्थानीय तहकै स्वास्थ्य संस्थामा पुग्न नसक्दा दुर्गमका नागरिक सेवा लिनबाट प्रभावित भएका हुन् ।

बागलुङमा २०७३ असारदेखि परीक्षणका रुपमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम यतिबेला देशभर पूर्णरुपमा लागु भएको छ । बागलुङका १६ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध छन् । जिल्लाका सबै स्थानीय तहका नागरिकलाई बीमाको पहुँचमा पुर्‍याएर निशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बीमा कार्यक्रम गाउँ गाउँ पुगेपनि स्वास्थ्य बीमामा आवद्द भएकाले सेवा लिने प्रथम विन्दु गाउँ पुग्न नसक्दा समस्या भएको हो ।

निसीखोला गाउँपालिकाले सबै नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने अभियान चलाएको छ । सोही अभियानबाट १४ हजार ३ सय ४२ जनाको बीमा समेत गरिसकेको छ । तर, बीमा गरेकाहरु सेवा लिन ढोरपाटन नगरपालिका पुग्नुपर्ने बाध्यता भएपछि पैसा तिरेर गाउँमै उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

निसीखोला गाउँपालिकाले पहिलोपटक स्वास्थ्य बीमा गर्ने नागरिकको प्रिमियम बराबरको रकम तिर्ने गरेको छ । नागरिकलाई स्वास्थ्य बीमामा आकर्षित गर्न यस्तो योजना ल्याएको भएपनि गाउँमै स्वास्थ्य सेवा नपाएपछि नागरिकले दोस्रो पटक बीमा नविकरणनै नगर्ने समस्या रहेको छ ।

निसीखोलाका स्थानीय बीमाको सुविधा प्राप्त गर्न ढोरपाटन नगरपालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुग्नु पर्ने बाध्यता छ ।

बीमाको स्वास्थ्य सेवा लिन हजारौँ खर्च गरेर ढोरपाटन पुग्नु भन्दा सोही खर्चमा गाउँमै उपचार गरे सहज हुने निसीखोला गाउँपालिका– ३ का हुमलाल रेग्मीको भनाईको छ । आफ्नै गाउँमा निशुल्क उपचार हुने आशमा बीमा गरेपनि गाउँबाट सेवा सुविधा नपाउँदा आफुजस्ता हजारौँ स्वास्थ्य बीमा गरेकाहरु प्रभावित बनेको उहाँको भनाई छ ।

‘निसीखोलाको गाउँ गाउँमा स्वास्थ्य चौकी छन्, सामुदायिक स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिक पनि छन्, तर स्वास्थ्य बीमा गरेकालाई उपचारको लागि बुर्तिवाङ पुग्नुपर्छ,’ रेग्मीले भन्नुभयो ‘नामको सेवाले जनतालाई सास्ती मात्र हुन्छ ।’

गाउँपालिकामा १० शैय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा रहेको भन्दै अस्पताल सुचारु भएपछि स्वास्थ्य बीमाको सुविधा गाउँपालिकाबाटै प्राप्त गर्न सकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीले बताउनु भयो ।

बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाका नागरिकले मात्रै पालिका भित्रै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुमा सेवा लिने गरेको स्वास्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायण प्रसाद पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार अहिले जिल्लाका ६ गाउँपालिकामा स्वास्थ्य बीमाका प्रथम सेवा विन्दु नहुँदा दुर दराजका नागरिक सेवा पाउनकै लागि सदरमुकाम लगायत छिमेकी जिल्लामा जानुपर्ने  बाध्यता रहेको छ ।

जिल्लाको निसीखोला गाउँपालिका सहित तमानखोला गाउँपालिका, बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकाका नागरिक स्वास्थ्य बीमाको सेवा लिनका लागि छिमेकी नगरपालिकामा पुग्नुपर्ने बाध्यता रहेको छ ।


सिर्जना पन्त