स्वास्थ्य बिमा भए पनि औषधि उपचार सेवामा समस्या

  ०७९ माघ १६ गते

स्वास्थ्य बीमा भए पनि बिरामी हुँदा औषधि किनेरै खानु परेको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका राजुराम पाठकले बताउनु भयो ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रम भए पनि गाउँमा नै स्वास्थ्य बिमाको औषधी सेवा उपलब्ध नहुँदा नागरिकलाई स्वास्थ्य बिमाको लागि निशुल्क औषधि र उपचार सेवा पाउन समस्या भएको हो ।

जिल्लाका ४२ हजार भन्दा बढी नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका ४२ हजार ४ सय ५५ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा जोडिएको राष्ट्रिय बिमा बोर्ड रामेछापको तथ्याङ्क छ । जसमा २२ हजार ३ सय ६७ महिला र २० हजार ८६ पुरुष रहेका छन् ।

जिल्लाका आठ ओटै स्थानीय तहका नागरिकले स्वास्थ्य बिमा गरे पनि उनीहरूले बिमा बापत पाउने औषधि र अन्य सेवा लिन जिल्ला सदरमुकाम मन्थली, जिल्ला अस्पताल रामेछाप वा धुलिखेल अस्पताल पुग्नु पर्छ । यसले गर्दा औषधिको मूल्य भन्दा कयौँ गुणा बढी रकम खर्च हुने सेवाग्राहीहरूको गुनासो छ ।

बिमा गरेर पनि उपचार गर्न र औषधि लिन काभ्रेको धुलिखेल वा जिल्ला सदरमुकाम नै पुग्नु पर्छ । औषधि किन्न आउन र जान मात्रै १ हजारदेखि १ हजार ५ सयसम्म गाडी भाडा लाग्छ । त्यसो हुँदा जति खर्च परे पनि गाउँकै मेडिकलमा औषधि किन्न बाध्य भएको उमाकुण्ड गाउँपालिका–५ प्रीतिका मणिराज सुनुवारले बताउनु भयो ।

गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रले औषधि र ल्याब जाँच गर्ने कागज लेखिदिन्छ, बिमाको सेवा लिन २ सय खर्च गरेर सदरमुकाम मन्थली पुग्नु पर्छ । त्यही औषधि गाउँकै मेडिकलमा ५० रुपैयाँमा पनि आउँछ । गाउँमा नै मेडिकल सेवा नहुँदा स्थानीयले बिमाबाट लाभ लिन नसक्ने भन्दै मन्थली नगरपालिका–१२ गेलुका कैलाश खत्रीले गुनासो गर्नुभयो ।

उमाकुण्डको गुम्देलबाट सदरमुकाम मन्थली आउन पुरै एक दिन लाग्छ । आउन गाडी भाडा मात्रै १ हजार २ सय लाग्छ । त्यहाँका बिरामीले पनि स्वास्थ्य बिमाको जाँच र औषधि लिन आउने ठाउँ मन्थली नै हो । जसले गर्दा नागरिकहरू बिमाको रकम तिरेका भए पनि गाउँमा नै पैसा खर्च गरेर औषधि किन्न बाध्य छन् । ‘ठूलो ठूलो बिरामी पर्दा मात्रै हो, नत्र हामीले स्वास्थ्य बिमाको सुविधा लिन पाएका छैनौँ’, उमाकुण्ड गाउँपालिका–१ गुम्देलका दमसर्की शेर्पाले गुनासो गर्नुभयो ।

जिल्लामा बिमाको औषधि दिने स्वास्थ्य संस्था मन्थली अस्पताल र रामेछाप अस्पताल मात्र भएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले जानकारी दिनुभयो । मन्थली अस्पतालमा पनि पूरा औषधि छैन, त्यहाँ औषधि नहुँदा मन्थलीकै तामाकोशी अस्पतालको औषधि पसलमा पठाउँछौँ, आँखाको सेवा भने सोझै रामेछाप आँखा केन्द्रबाट पनि लिन सकिने फुयाँलले भन्नुभयो ।

बिमाको औषधीको रकम भुक्तानीको लागि चिकित्सकको प्रेसक्रिप्सन आवश्यक पर्ने भएकोले डाक्टर नभएका स्वास्थ्य संस्थाले औषधि सिफारिस गर्न नसक्ने फुयाँलले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर हुने भएकोले उनीहरूले मात्र सिफारिस गर्न सक्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य बीमा गर्न पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । पाँच जनाभन्दा माथिको परिवार भएमा प्रति सदस्य थप ७ सय रुपैयाँ तिर्नुपर्छ । बिमा गरेपछि बिमितले एक लाख रुपैयाँसम्मको उपचार र औषधी सेवा पाउँछ ।


नवराज पथिक