स्वास्थ्य बिमाको रकम भुक्तानी रोकिदा सेवा प्रवाहमा समस्या

  ०८१ भदाै १२ गते

स्वास्थ्य बिमाको रकम शोध भर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको छ । स्वास्थ्य बीमा बोर्डले ४ करोड २० लाख रुपियाँ भुक्तानी नदिएकाले उपचारको लागि समस्या भएको केन्द्रले जनाएको छ ।

रकम भुक्तानी नपाउँदा आर्थिक अभावले गर्दा औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको केन्द्रका फार्मेसी अधिकृत मुकुन्दप्रसाद यादवले बताउनुभयो । पुससम्मको भुक्तानी दिएपनि माघदेखि साउनसम्म गरी सात महिनाको ४ करोड २० लाख रुपियाँ भुक्तानी नदिएकोले उपचार नै रोक्नु पर्ने स्थिति आउन लागेको उहाँले बताउनु भयो ।

औषधी, ल्याबका केमिकल, एक्सरे लगायतका आवश्यक स्वास्थ्य सामग्री किन्ने रकम नहुँदा उपचार प्रभावित भएको यादवले बताउनुभयो । बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन हुँदा सेवा नै रोक्नु पर्ने अवस्था आउन लागेको यादवको भनाइ छ । यादवले भन्नुभयो ‘औषधि तथा स्वास्थ्य सामग्री गरी मासिक ६० लाख बढी खर्च हुन्छ, भुक्तानी रोकिँदा सेवा प्रवाहमा सङ्कट आएको छ ।’

Photo2024.828 gp koirala hospital

९० प्रतिशत भन्दा बढी बिरामी बिमा अन्तरगतका हुने भएकोले लामो समय शोधभर्ना नहुँदा उपचार गर्न नसकिने अवस्था आइसकेको केन्द्रले जनाएको छ । आर्थिक अभावले गर्दा औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेकोले उधारो नदिँदा सेवामा सङ्कट आएको यादवले बताउनु भयो । यादवले भन्नुभयो– ‘भुक्तानी नपाउँदा सप्लायर्सहरुले सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेका छन् इमरजन्सीमा भर्ना हुन आएका बिरामीको समेत भर्ना गर्न नसकिने अबस्था आएको छ ।’

यादवका अनुसार बिमा बोर्डलाई केन्द्रको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भिरता नभएकोले समस्या परेको छ । औषधि, ल्याब केमिकल, एक्सरेलगायत स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्री आपूर्ती भुक्तानी रोकिँदा प्रभावित भएको छ । थाइराईड लगायतको अप्रेसन समेत गर्न नसकिने अवस्थामा पुगेको छ । प्रत्येक फार्मेसीलाई नेपाल सरकारले औषधि खरीदको लागि २० लाख रुपियाँ बिउ पुँजी दिने गरेपनि केन्द्रले रकम नपाउँदा समस्या परेको छ । केन्द्रमा सवारी दुर्घटनाका घाइतेका अलावा विभिन्न रोगका बिरामी नियमित आउने गरेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका सहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने केन्द्रले जनाएको छ ।


प्रकाशचन्द्र भट्टराई