स्वास्थ्य बिमाको उपचार वापतको रकम भुक्तानी नहुँदा उपचार रोकिने अवस्था

  ०८१ असोज १४ गते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले स्वास्थ्य बिमाको उपचार वापतको रकम सरकारले भुक्तानी नदिएको भन्दै उपचार सेवा रोक्ने अवस्थामा अस्पताल पुगेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बिमा उपचार सेवा तथा डायलाइसिस र सिकलसेल उपचार वापत सरकारले प्रतिष्ठानलाई १२ करोड १५ लाख ८४ हजार ४ सय ६७ रुपियाँ भुक्तानी नदिएको बताउनु भयो । भुक्तानी नपाउँदा औषधि उपलब्ध गराउँदै आएका सप्लायर्सहरूलाई औषधिको भुक्तानी दिन नसकिएकोले उपचार नै रोक्नुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले बिमा उपचार सेवा वापतको ११ करोड ८६ लाख ६ हजार २ सय ८६ र डायलाइसिस तथा सिकल सेल एनिमियाको उपचारवापतको २९ लाख ७८ हजार १ सय ८१ गरी कुल १२ करोड, १५ लाख ८४ हजार ४ सय ६७ रुपियाँ भुक्तानी नपाएको जानकारी दिनुभयो ।

प्रतिष्ठानले औषधि सप्लायर्सलाई मात्रै १३ करोड ४२ लाख ५ हजार ५ सय ७८ रुपियाँ तिर्न बाँकी रहेको जनाएको छ । प्रतिष्ठानमा सर्जिकल सामान उपलब्ध गराउँदै आउनु भएका औषधि व्यवसायी तथा रसायन तथा सर्जिकल एशोसिएसन दाङका अध्यक्ष बालकुमार घर्तीले परिवारका गहना बेचेर प्रतिष्ठानलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै भुक्तानी नपाए अब सेवा दिन नसकिने बताउनु भयो । घर्तीले सम्झौता तोड्न नसकेर सर्जिकल सामान उपलब्ध गराएको भन्दै बैङ्कमा ऋण बोकेर औषधि उपलब्ध गराउन नसक्ने बताउनु भयो । औषधि उपलब्ध गराए वापत प्रतिष्ठानबाट बालकुमार घर्तीले मात्रै ६ करोड रकम भुक्तानी पाउनुपर्ने छ । प्रतिष्ठानले सरकारबाट रकम नपाएको भन्दै औषधि व्यवसायीलाई पनि रकम भुक्तानी गरेको छैन ।

उपचार नरोक्न आग्रह

जिल्लास्थित राजनीतिक दल, मानव अधिकारकर्मी र इन्सेकलगाएत नागरिक समाजले प्रतिष्ठानलाई उपचार नरोक्न आग्रह गरेका छन् । रकम भुक्तानी गर्ने दायित्व राज्यको भन्दै उनीहरूले त्यसका लागि पहल गर्ने बताए । नेकपा एमालेका अध्यक्ष शिवकुमार आचार्यले उपचार रोक्न नहुने भन्दै भुक्तानीका लागि पहल गर्ने बताउनु भयो । नेपाली काँग्रेसका कोषाध्यक्ष प्रकाश सुवेदीले तत्काल भुक्तानीका लागि पार्टीले पहल गर्ने बताउनु भयो । नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नेकपा विप्लवका जिल्ला इन्चार्ज सविन पोख्रेल, नेकपा बहुमत अमर खड्का, मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा, उपभोक्ता हित संरक्षण केन्द्रका कार्यबहाक अध्यक्ष चिन्तामणी पौडेल, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठलगायतले उपचार रोकिए नागरिकको पक्षमा उभिने भन्दै भुक्तानीका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।


जयनारायण पुन