स्वास्थ्य चौकी र प्रसुती केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

मुगुम कार्मारोङ्ग गाउँपालिकामा स्वास्थ्य चौकी र सुरक्षित प्रसुती सेवा केन्द्र भए पनि स्वास्थ्यकर्मीहरू नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

लामा समुदाय बसोबास गर्ने यो गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकी र चार वटा प्रसुती केन्द्र रहेका छन् । मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माङ्ग्री गाउँमा रहेको प्रसुती सेवा केन्द्रबाट वडा नम्बर ८ र ९ का स्थानीयबासीले सेवा लिएका भए पनि सोही गाँउपालिकाको-२,३,६,वडाका स्वास्थ्य चौकी र प्रसुती सेवा केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा परेका छन् भने प्रसुती केन्द्र जीर्ण बन्दै गएका छन् ।

वडा नम्बर ६ पुलु स्वास्थ्य चौकी र प्रसुती केन्द्रका लागि दुई जना अहेब एक हेल्थ अस्टिटेन्ट तीन अनमी र दुई कार्यालय सहयोगीको दरबन्दी भए पनि एक जना अहेब गाँउपालिकामा काजमा खटिएका छन् । एक जना हेल्थ अस्टिटेन्ट र एक कार्यालय सहयोगी बाहेक अरु छैनन् । प्रस्तुति केन्द्रका लागि तालिम प्राप्त एक जना अनमी भए पनि उनी अहिले काजमा जुम्लामा कार्यरत छिन् गर्भवती चेक जाँच गर्न सर्वसाधरण आए पनि सेवाग्राही रित्तै फर्कनु परेको पुलु स्वास्थ्य चौकीका इन्चार्ज सर्पराज भाम बताउँछन् । आफू कार्यरत स्वास्थ्य चौकी छोडेर प्रायः स्वास्थ्यकर्मी सदरमुकाम र आ-आफना घरमा बस्ने गरेकाले सामान्य ज्वरो आउँदा सिटामोलसम्म नपाएको मुगुम कार्मारोङ्ग-३ कि छिइटोल लामा बताउँछिन् ।

भौगलिक विकटताका कारण एक गाउँबाट स्वास्थ्य चौकी र प्रसुती केन्द्रमा पुग्न घण्टौ समय लाग्ने भएकाले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुर्‍याउन घरपरिवारले झण्झट मान्ने गरेका र स्वास्थ्य संस्थामा दक्ष जनशक्ति अभावले पनि सेवाग्राहीले भनेको बेलामा सेवा पाउन नसकेको र आगामी दिनमा पायक पर्ने स्थानमा प्रसुती केन्द्रको स्थापना र दक्ष जनशक्तिको व्यवस्था गरी सेवा दिने मुगुम कार्मारोङ्ग गाँउपालिकाको प्रमुख छिरिङ्ग क्याप्ने लामा बताउँछन् ।


जीवन सेजुवाल