स्वास्थ्य चौकीमा सोलार व्यवस्था नहुँदा सुत्केरी गराउन समस्या

अदानचुली गाउँपालिका –३ स्थित श्रीनगर स्वास्थ्यचौकीमा सोलार व्यवस्था नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा विद्युतको वैकल्पिक स्रोतको रुपमा सोलारको प्रयोग रहेको थियो ।
स्वास्थ्य चौकीमा माघ २ गते राखिएका तीनओटै सोलार पाता चोरी हुँदा थप अर्काे व्यवस्था नहुँदा सो क्षेत्रका बिरामी, सुत्केरी महिलाहरूलाई थप समस्या पारेको सो स्वासथ्यचौकीका प्रमुख अशोक महताराले बताउनु भयो ।

श्रीनगर गाउँकी शान्ती महतारा माघ ५ गते वर्थिङ् सेन्टरमा सुत्केरी गराउन आउँदा टर्चको सहायतामा सुत्केरी गराउनु परेको पति धिरज महताराले गुनासो गर्नुभयो ।
प्रमुख महताराका अनुसार अज्ञात समूहद्वारा स्वास्थ्य चौकीको सोलार चोरेपछि हाल दैनिक दिन सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन् । सेवा प्रभावित साथै काम जोखिम बढेको छ ।

हाल स्वास्थ्य चौकीमा जडान गरिएका फ्रिज, इन्टरनेट, कम्प्युटर लगायतका सामाग्रीहरूमा पावर कम भएकाले अन्य सेवाबाट पनि प्रभावित बनाएको प्रमुख महताराको भनाइ छ । स्वास्थ्य चौकीमा वैकल्पिक उर्जा प्रवर्धन केन्द्रद्वारा ल्याइएको १ किलोवाटको सोलार राखिएको थियो । जसमध्य अघिल्लो स्थानीय सरकारको समयमा करिब ५ लाख रकम बजेट विनियोजन गरेर सोलार प्यानल लगाएतका सामाग्री खरिद गरिएका थिए । जसमा तीन ओटै सोलार प्यानल चोरी भएपछि पावरको अभाव भएको प्रमुख महताराले बताउनुभयो ।


नन्द सिंह