स्वास्थ्य चौकीमा सिटामोल समेतको औषधि नहुँदा बिरामीहरू मर्कामा

  ०७५ जेठ १६ गते

बाह्रबिसे नगरपालिका-३ मा रहेको स्वास्थ्य चौकीमा सिटामोलसमेतको औषधि नहुँदा बिरामीहरू औषधि उपचारबाट वञ्चित भएका छन् ।

बर्थिङ सेन्टरसमेत रहेको उक्त स्वास्थ्य चौकीमा निशुल्क वितरण गरिने औषधिको अभावका कारण बिरामीहरू आउनसमेत छाडेको अनमी बबिता शाहले बताइन् ।

सरकारले स्वास्थ्य चौकीहरूबाट ३८ किसिमको औषधि निशुल्क वितरण गरिने भनिएता पनि सो स्वास्थ्य चौकीमा तीन महिनादेखि सम्बन्धित निकायबाट औषधि नपठाउँदा समस्या परेको अर्की अनमी अनिता थापाले बताइन् । उनका अनुसार जिल्लाबाट पठाएको केही औषधि पहिला नै सकियो । नगरपालिका बाट थोरै औषधि खरिद गरिएको थियो ।

'स्वास्थ्य चौकीमा पर्याप्त औषधिको व्यवस्थापन गर्न हालको अवस्थामा निकै मुस्किल भएको छ । अर्को आर्थिक वर्षेखि औषधिको अभाव हुन नदिन प्रयास गर्र्छौँ ।'-स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष टेकबहादुर भण्डारीले भने ।

स्वास्थ्य चौकीमा निशुल्क वितरण गरिने औषधिको सूची समेत नहुँदा स्थानीय नागरिकहरूलाई कुनकुन औषधि निशुल्क पाइन्छ भन्ने कुरा आफूहरूलाई थाहा नभएको स्थानीय रत्नबहादुर बस्नेतले बताए ।


नातिबावु धिताल