स्वास्थ्य चौकीमा तोकिएका औषधि नहुँदा सेवाग्राही समस्यामा

भोटेकोशी गाउँपालिका-५ चाकु बजारमा रहेको स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवाग्राही बिरामीहरू समस्यामा परेका छन् ।

सरकारबाट निशुल्क वितरण गरिने औषधि स्वास्थ्य चौकीमा उपलब्ध नभएको तीन महिना भएको स्थानीयले आरोप लगाएका छन् ।

भोटेकोशी खोलाको बगरमा पालमुनी बसेर बिरामीहरूलाई जाच गर्नुपर्छ बिरामी जाँचेर औषधि दिन पाइँदैन भन्दै स्वास्थ्य चौकीको बिजोग भएको सुनाउँदै मार्मिङ स्वास्थ्य चौकीकी अनमी अनिता कार्कीले बताइन् ।

उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग्न गयो गाउँपालिका देखाउने र गाउँपालिकामा  गयो जिल्ला देखाउने प्रवृत्ति रहेको बताए । अनमी कार्कीका अनुसार बिरामीलाई बाँड्न सिटामोल र जीवनजलसमेत नहुँदा याहाँ आउने बिरामीहरू मर्कामा परेका छन् ।

तीन जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा औषधि नभएपछि स्वास्थ्य कर्मीहरू पनि पालैपालो कार्यालय खोल्न मात्र आउने गरेको स्थानीयको आरोप छ ।

photo20180409sindhupalchok

स्वास्थ्य चौकीमा औषधिको अभावको समस्याकोबारे जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन प्रमुख रबिकान्त मिश्रसँग सम्पर्क गर्दा गाउँपालिकाले औषधि खरिद गर्न बजेट नपठाएको बताए ।

भोटेकोशी गाउँपालिकाकी उपाध्याक्ष दाबुटी शेर्पासँग स्वास्थ्य चौकीमा औषधिको अभावबारे जिज्ञासा राख्दा औषधि खारिदको प्रक्रियामा रहेको बताइन् । भोटेकोशी गाउँपालिकास्थित स्वास्थ्य शाखा प्रमुख रोजन सुवेदीले स्थानीय तह र कर्मचारीबिचमा समन्वय हुन नसकेकाले समस्या देखिएको बताए  ।


नातिबावु धिताल