स्वास्थ्य चौकीमा औषधी र स्वास्थ्य सामग्रीको अभाव हुँदा बिरामीलाई सास्ती

  ०८१ साउन ३१ गते

लालझाँडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिने औषधी पर्याप्त मात्रामा नहुँदा, जिर्ण भौतिक संरचना, पर्याप्त उपकरण र आवश्यक स्वास्थ्य सामग्रीको अभावमा बिरामीहरुले सास्ती खेप्नु परेको स्थानीयहरुले गुनासो गर्नु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि स्वास्थ्य चौकी पुगेको भए पनि स्वास्थ्य चौकीमा औषधी नभएपछि रित्तो हात घर फर्किएको लालझाँडी गाउँपालिका–९ की कला रानाले गुनासो गर्नु भयो ।

निःशुल्क रुपमा वितरण गरिने औषधी समेत स्वास्थ्य चौकीमा नपाएपछि आफूले उपचार गर्न समेत नसकेको रानाको भनाइ छ ।

सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएका सबै प्रकारका औषधी समेत स्वास्थ्य चौकीमा नपाउने गरेपछि स्वास्थ्य चौकीमा जान छोडेको र बिरामी हुँदा नीजि अस्पताल तथा क्लिनिकबाट महँगाे मूल्य तिरेर औषधी किन्न बाध्य भएको स्थानीय कुन्ता रानाले गुनासो गर्नु भयो ।

चेकजाँचका क्रममा आमालाई टाइफाइडको सङ्क्रमण भएको देखिए पनि औषधी नपाउँदा नीजि अस्पतालबाट महँगाेमा औषधी किनेर फर्किनु परेको देखतभुलीका स्थानीय भुवन महराले दु:खेसो पोख्नु भयो ।

स्थानीय खेमराज ओझाले स्वास्थ्य चौकी स्थापनाकालदेखि नै स्वास्थ्य चौकीले गुणस्तरीय सेवा दिदैँ आए पनि स्वास्थ्य सामग्रीको अभाव सधैजसो खट्किने गरेको बताउनु भयो ।

रेफर गरिएका बिरामीहरुलाई धनगढी र महेन्द्रनगरका अस्पतालमा लैजानका लागि एम्बुलेन्स नहुँदा रात–बिरात अटोमा राखेर लग्नु पर्ने बाध्यता रहेको उहाँले दु:खेसो गर्नु भयो ।

बर्थिङ सेन्टरमा कार्यरत अनमी बिनिता बोहराले सुत्केरी र कुरुवा बस्ने एउटै कोठा हुँदा निक्कै समस्या हुने गरेको बताउनु भयो ।  उहाँले भन्नु भयो– ‘अर्को तर्फ डेलिभरी बेड पनि एउटै छ । सँगै अर्को सुत्केरी आउँदा कहाँ राखेर डेलिभरी गराउने ?, बर्थिङ सेन्टरमा कोठा अभावले गर्दा सुत्केरीहरुले निक्कै सास्ती खेप्नुपर्छ । डेलिभरी बेडलगायत आवश्यक उपकरण र स्वास्थ्य सामाग्रीको पनि उस्तै समस्या छ ।’

लालझाँडी गाउँपालिका, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका पाँच ओटा वडाका १२ हजार भन्दा बढी स्थानीयलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको भए पनि औषधी र उपकरणको अभाव भएपछि पूर्व मुख्यमन्त्री रावलले स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रसँग समन्वय गरेपछि स्वास्थ्य सामग्री र औषधी प्राप्तभएको स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘तत्कालका लागि आपुर्ति केन्द्रले डेलिभरी बेड, ट्रली र निडल कटर उपलब्ध गराएको छ । २ सय ओटा अक्सिटोसिन इन्जेक्सन, १ सय ओटा मेडावोन, १ हजार जोडा सर्जिकल ग्लोब, १ सय ५० पिस क्याउलालगायत विभिन्न थरीका औषधीहरु उपलब्ध भएको छ ।’

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि लालझाँडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकीमा पर्याप्त उपकरण, औषधी र आवश्यक स्वास्थ्य सामग्री नहुँदा स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।


लिली कुँवर