स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव

नौमूले गाउँपालिका–७ को पैतीमा सञ्चालित स्वास्थ्य चौकीमा औषधि र भौतिक सुविधा अभाव भएको छ ।

सङ्घीय संरचना अनुसार स्थानीय तहको निर्वाचनपछि ०७४ फागुनमा गाउँ कार्यपालिकाले नयाँ स्थापना गरेको यो स्वास्थ्य चौकीमा अरू स्वास्थ्य संस्था जति औषधि नपाउने भएकोले सिटामोल बाहेक अरू औषधि नभएको अहेब सरिता बिष्टले बताइन् ।

नौमूले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब भूपेन्द्र शाहीले जिल्ला स्वास्थ्य र गाउँपालिकाले औषधि खरिद प्रक्रिया ढिला गरेको कारण सबैजसो स्वास्थ्य संस्थामा औषधि अभाव भएको बताए ।

समयमा बजेट निकासा नहुने र बजेट निकासापछि कोटेशन प्रक्रिया पुर्‍याउनु परेको कारण पनि औषधि समयमा पुग्न नसकेको उनले इन्सेक जिल्ला प्रतिनिधिलाई बताए ।

नयाँ संरचनामा जाँदा पुरानो ३ नम्बर इलाकाका सात ओटा गाविस गाभिएर बनेको नौमूले गाउँपालिका आठ ओटा वडामा विभाजन गर्दा साविकको सल्लेरी गाविसको १–५ लाई ६ नम्वर वडा र साविकको सल्लेरी गाविसको ६–९ सम्म नौमूले गाउँपालिका वडा नम्बर ७ मा परेपछि वडा नम्बर ७ का लागि नयाँ स्वास्थ्य चौकी स्थापना गरिएको हो ।

साविकका अरू ६ ओटा गाविसहरू तोली, बालुवाटार, द्वारी, कालिका, नौमूले र चौराठा सिंगो एक–एक वडामा राखिँदा पुराना स्वास्थ्य चौकीबाटै सेवा दिन सजिलो भएको तर दुई ओटा वडामा विभाजन भएको साविकको सल्लेरी स्वास्थ्य चौकी अहिलेको नयाँ ६ नम्बर वडामा परेपछि वडा नं. ७ का लागि मात्र नयाँ स्वास्थ्य चौकी स्थापना गरिएको थियो । नौमूलेको स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको छ ।

नौमूले गाउँपालिकाका पुराना स्वास्थ्य संस्थामा दरबन्दी भन्दा न्यून सङ्ख्यामा भए पनि स्वीकृत दरबन्दीका कर्मचारी छन् ।

वडा नम्बर ७ मा नयाँ स्थापना भएको पैती स्वास्थ्य चौकीमा भने गाउँपालिकाको आन्तरिक श्रोतबाट एक जना अहेब सरिता बिष्ट र एक जना अनमी सम्झना हमाल आफैँले कार्यालय सहयोगीको काम समेत धान्दै आएको बताउँछन् ।

सुत्केरी गराउने पलङ, आवश्यक उपकरण तथा साधनहरू नहुँदा स्वास्थ्य चौकीमा आएका सुत्केरीहरूलाई परम्परागत तरिकाबाट बच्चा जन्माउनु परेको नौमूले गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य बेलसरा बिकले बताइन् ।

गाउँपालिकाभित्रका अरू सबै स्वास्थ्य संस्था आफ्नै भवन र साधनश्रोत सम्पन्न भएको तर पैती स्वास्थ्य संस्थामा भाडाको घरमा राख्नु परेको पनि वडा सदस्य बिकले बताइन् ।


अमर सुनार