स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा भूकम्प पीडितहरुको उपचारमा समस्या

जिल्लास्थित स्वास्थ्य चौकीहरुमा औषधिको अभाव रहेका कारण आफूहरुले थप सस्ती खेप्नु परेको पुर्बिचौकी गाउँपालिकाका भूकम्प प्रभावित क्षेत्रका स्थानीयहरुले गुनासो गर्नु भएको छ ।

सिमबाटा गाउँका भूकम्प पीडित ६५ वर्षीय प्रसादे लुहारले दम रोगको औषधि लिन एक महिनाको अवधीमा तीन पटक काडामाण्डौँ स्वास्थ्य चौकी पुग्दा समेत औषधि नपाएर रित्तै फर्कनु परेको दुखेसो पोख्नु भयो ।

उहाँले सरकारी स्वास्थ्य चौकीमा औषधि नपाएपछि बाख्रा बेचेर गाउँबाट तीन घण्टा टाँढा पर्ने चौखुट्टेस्थित मेडिकलमा पुगेर उपचार गर्न बाध्य भएको बताउनु भयो ।

सिमबाटा गाउँकै देउसरा साउदले रुघाखोकीबाट दुई ओटी छोरीको छातिमा कफ जमेपछि उपचारका लागि स्वास्थ्य चौकी लैजाँदा उपचार तथा औषधि समेत नपाएको गुनासो गर्नु भयो ।

उहाँले स्वास्थ्य चौकीमा औषधि नै नभएको भन्दै उपचार नभएपछि छिमेकीसँग ऋण लिएर नीजी मेडिकलमा उपचार गराउनु परेको दुखेसो पोख्नु भयो ।

त्रिपालमूनि बस्नु पर्दा उप्परकाँडा, सिमबाटा, नुवाघर, गैरा, धानुकाडा, बटाला गाउँमा रुघाखोकी स्वासप्रस्वास र दम लागेका अनुमानित ९ सय बिमारी भएका तर स्वास्थ्य चौकीमा जाँदा औषधि नपाएर रित्तै फर्किने गरेको स्थानीय काल्च्या साउदले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘रुघाखोकी र निमोनियाबाट संक्रमित नभएका कुनै बालबालिका छैनन् । गाउँका अधिकांश बालबालिकाहरु निमोनियाबाट ग्रसित छन् । तर, स्वास्थ्य चौकीमा औषधि नै पाइदैन् ।’

भूकम्प पीडितहरुको लागि कार्यरत दातृसंस्थाहरुले समेत कुनै चासो नदेखाएको स्थानीयहरुको आरोप छ ।

‘चिसोले दिनरात खोक्दा खोक्दा छाती फुट्न आटिसक्यो । राम्रो अस्पताल गएर उपचार गर्न पैशा छैन् । सिमबाटा गाउँकी पबी ढोलीले दुखेसो पोख्नु भयो । एक दिन होइन्, दुई दिन होइन् । जहिल्यै औषधि नपाइ रित्तै स्वास्थ्य चौकीबाट फर्कनु पर्ने भएको छ ।’

अहिले पुर्विचौकी गाउँपालिकामा सिटामोल, ब्रोफिन, दमरोगीलाई दिइने सालबोटामोल, बालबालिकालाई खुवाइने एमरेक्स, कोट्रिमोक्साजोल ,मेट्रोनिडाजोल, उच्च रत्तचापका बिरामीले दैनिक खाने एम्लोडिपिन एस्प्रिन, सुगरका बिरामीले खाने मेटपर्मिन, मानसिक समस्या भएकाले खाने एमिट्रिप्टलीन तथा बिरामीलाई निःशुल्क दिइनु पर्ने अन्य औषधिहरु एमोक्सिसिलिन, कोट्रिमोक्साजोल, एम्पिसिलिन लगायतका अत्यावस्यक औषधि समेत नभएको सानागाउँ स्वास्थ्य चौकीका अहेब खडक विकले बताउनु भयो ।

उहाँले गाउँपालिकाबाट नौ महिनादेखि औषधि उपलब्ध नहुँदा बिरामीहरुलाई रित्तै फर्काउनु परिरहेको बताउनु भयो । बिरामी स्वास्थ्य चौकी आएपछि औषधि नहुँदा स्वास्थ्यकर्मीहरु नै लज्जित हुनु पर्ने अवस्था बनेको अहेव विकको भनाइ छ ।

गाउँपालिकामा दुई महिनायता औषधि अभाव भएको स्वास्थ्य इकाइ प्रमुख रामप्रसाद पाठकले बताउनु भयो ।

उहाँले भण्डारणमा राखिएका औषधि सकिदै गएकाले पनि स्वास्थ्य संस्थाहरुलाई वितरण गर्न नसकिएको बाध्यता सुनाउनु भयो । उहाँका अनुसार दुइ महिनाको अवधीमा स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, निमोनिया तथा दमका ९ सय ९५ जना बिरामीहरु उपचारका लागि आइसकेको स्वास्थ्य इकाइमा तथ्याङ्क छ ।

पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले लामो समयदेखि लेखापाल र कार्यालय प्रमुख नहुँदा औषधि खरिद प्रक्रियामा ढिलो भएको र हाल कार्यालय प्रमुख आइसक्नु भएकोले केहि दिन मै औषधि गरिद गरेर स्वास्थ्य चौकीमा पठाउने बताउनु भयो ।


गणेश जोशी