स्वास्थ्य चौकीमा औषधि अभाव

  ०७८ कात्तिक ३० गते

छेडागाड नगरपालिका –१३ स्थित कार्की गाउँ स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् ।

बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि नभएको भन्दै स्वास्थ्यकर्मीले फर्काएको  स्थानीय शेरबहादुर खत्रीले बताउनुभयो ।

नगरपालिका स्वास्थ्य शाखा संयोजक धनसिंह खड्काका अनुसार एक सातादेखि भाइरल ज्वरो तथा पखालाका बिरामी बढेपछि दैनिक २० देखि २५ जना व्यक्तिहरू ज्वरो, टाउको दुख्ने र पखालाका बिरामी भएर स्वास्थ्य चौकी आउने गरेता पनि औषधि नभएर फर्काउनु परेको छ ।

नगरपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकिएपछि बिरामीलाई समस्या भएको छेडागाड नगरपालिका–१३ का वडाध्यक्ष मोतीलाल खत्रीले जानकारी दिनुभयो ।

‘आफै पनि सुगर रोगको उपचारको लागि सदरमुकाम खलङ्गा धाउनु परेको छ । गाउँमा अधिकांश बालबालिका, वृद्व वृद्वाहरू बिरामीले थला परेको छन्, औषधि छैन’ वडाध्यक्ष खत्रीले दुःखेसो पोख्नुभयो ।

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतराले नगरपालिकामा औषधि अभाव भएका कारण पठाउन नसकेको बताउनुभयो ।

औषधि खरिद प्रकृया भइरहेको र औषधि जिल्लामा आउने बित्तिकै स्वास्थ्य संस्थाहरूमा पठाइने नगर प्रमुख महतराको भनाइ छ ।


दिनेशकुमार श्रेष्ठ