स्वास्थ्य चौकीमा औषधि अभाव, सेवाग्राही मर्कामा

ककनी गाउँपालिका-८ मा रहेको थानसिङ स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा सेवा प्रभावित भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र गाउँपालिकाको कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्य चौकीका इञ्चार्ज सुरेश गैरेले बताए । इञ्चार्ज गैरेका अनुसार स्वास्थ्य चौकीमा नियमित हुनु पर्ने ११ प्रकारका औषधि अभाव भएको छ ।

स्वास्थ्य चौकीमा आँखामा राख्ने औषधि सिप्रो, पेट दुखेको बेला खाने ट्यावलेट वुसकोवान, उल्टी रोक्ने मेटोक्लोरोप्रामाइड, एभिल सुई, डाइजिन ट्यावलेट, भिटामिन बि कम्प्लेक्स, कालामाइन लोसनलगायतका औषधि अभाव भएको इञ्चार्ज गैरैले जानकारी दिए ।

'कुनै औषधि एक महिनादेखि अभाव भएको छ भने कुनै ६ महिनाभन्दा लामो समयदेखि अभाव भएको छ ।'-गैरेले भने-'जिल्ला जनस्वास्थ्यमा भनिरहेका छौँ । गाउँपालिकामा पनि औषधि खरिदको बजेट आएको छ । तर, गाउँपालिकाले औषधि नै किनेको छैन । जिल्ला जनस्वास्थ्यले केही औषधि छिटै पठाउने भनेको छ ।'

स्वास्थ्य चौकीमा नियमित हुनु पर्ने औषधि नहुँदा सेवाग्राही मारमा परेका छन् । वैशाख २८ गते स्वास्थ्य चौकीमा पुग्दा भेटिएका ककनी गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष शेषमान लामाले स्वास्थ्य संस्थालाई सधैँ आवश्यक पर्ने र जिल्लाबाट नआउने औषधिको सूची प्राप्त भएकोले किन्नको लागि वडा कार्यालयले पनि पहल गर्ने बताए ।

थानसिङ स्वास्थ्य चौकी भाडाको घरको एउटा कोठाबाट सञ्चालन हुँदै आएको छ । तीन वर्षदेखि निर्माणाधीन भवन अझै निर्माण सम्पन्न भएको छैन । भवन निर्माणमा ठेकेदारले लापारवाही गरेकोले निर्माणलाई तीव्रता दिनको लागि गाउँपालिकामार्फत पहल थालिने वडा अध्यक्ष लामाले बताए ।


नवदीप श्रेष्ठ