स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीलाई सास्ती

बेलौरी नगरपालिका–८ कलकत्ता बजारस्थित रामपुर स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिने औषधि प्रयाप्त मात्रामा नहुँदा सास्ती खेप्नु परेको स्थानीयहरुले गुनासो गर्नु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि स्वास्थ्य चौकी पुगेको भए पनि स्वास्थ्य चौकीमा औषधि नभएपछि रित्तो हात घर फर्किएको बेलौरी नगरपालिका–९ की सविता वडले गुनासो गर्नु भयो ।

चेकजाँचका क्रममा टाइफाइडको सङ्क्रमण भएको देखिए पनि औषधि नपाउँदा नीजि अस्पतालबाट महंगोमा औषधि किनेर फर्किनु परेको सविताले दुखेसो पोख्नु भयो ।

एक हप्ता अघि भाईरल ज्वरो आएपछि औषधि ल्याउनका लागि स्वास्थ्य चौकी पुगेको भए पनि स्वास्थ्य चौकीमा औषधि नपाएपछि रित्तो हात फर्केको स्थानीय बसन्ती रानाले गुनासो गर्नु भयो । निःशुल्क रुपमा वितरण गरिने औषधि समेत स्वास्थ्य चौकीमा नपाएपछि आफूले उपचार गर्न समेत नसकेको रानाको भनाइ छ ।

सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएका सबै प्रकारका औषधि समेत स्वास्थ्य चौकीमा नपाउने गरेपछि स्वास्थ्य चौकीमा जान छोडेको र बिरामी हुँदा नीजि अस्पताल तथा क्लिनिकबाट महँगो मूल्य तिरेर औषधि किन्न बाध्य भएको स्थानीय मैना रानाले गुनासो गर्नु भयो ।

स्वास्थ्य चौकीको बैंक खातमा रकम नभएको कारण औषधि खरिद गर्न समस्या हुँदा बिरामीहरूले सास्ती खेप्नु परेको बेलौरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष एवं  रामपुर स्वास्थ्य चौकी सञ्चालन समितिका संयोजक विश्रामराम रानाले बताउनु भयो ।

लामो समयदेखि नगरपालिकामा कार्यालय प्रमुख नभएका कारण औषधि खरिदका लागि टेण्डर खुल्न नसक्दा औषधि खरिद तथा वितरणमा ढिलाई भएकोले स्थानीय बिरामीहरुले सास्ती खेप्नु परेको स्वास्थ्य शाखा प्रमुख धर्मानन्द भट्टले बताउनु भयो ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि बेलौरी नगरपालिका–८ कलकत्तास्थित रामपुर स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।


लिली कुँवर