स्वास्थ्य चौकीमा औषधिको अभावले सेवाग्राही मर्कामा

  ०८० माघ २२ गते

आमाछोदिङमो गाउँपालिका-३, गतलाङमा रहेको स्वास्थ्य चौकीमा औषधि उपलब्ध नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

औषधि अभाव भएपछि स्थानीयले आधारभुत सेवा पाउनबाट समेत वञ्चित हुनु परेको छ । स्थानीय निमा तामाङले आफूलाई जीउ दुख्ने, ज्वरो आउने जस्तो स्वास्थ्य समस्या पर्दा समेत त्यहाँको स्वास्थ्य चौकीमा औषधि नभएपछि उपचारको लागि धुन्चे जानु परेको गुनासो गर्नुभयो ।

समय समयमा स्वास्थ्य चौकीहरूमा कर्मचारी नियमित नहुने तथा औषधि पनि अभाव हुने गरेको छ । कहिलेकाहीँमात्र कर्मचारी आउने र चाँढै बन्द गरेर हिँड्ने भएकोले सर्वसाधारणले औषधि उपचार नपाएका हुन् । विकल्पको रूपमा गाउँ वरिपरि क्लिनक पनि छैन । सरकारले स्वास्थ्य संस्थामार्फत ७० प्रकारका औषधिहरू निःशुल्क प्रदान गर्ने घोषणा गरे पनि त्यहाँ आधारभूत स्वास्थ्य सेवा समेत पाउन सकेका छैनन् । स्वास्थ्यकर्मीको अभावले स्थानीय नागरिकहरू राजधानीका अस्पताल र नीजि क्लिनिकहरूमा महङ्गो औषधि किन्न बाध्य छन् ।

जीउ दुख्ने, ज्वरो आउने जस्तो समस्याले स्वास्थ्य संस्था पुगेको औषधि नपाएको स्थानीय सेतार तामाङले गुनासो गर्नुभयो । गाउँपालिकामा केही औषधिहरू अभाव देखिएको र एक साताभित्र आपुर्ति गरिने आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनु भयो ।

नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि आमाछोदिङमो गाउँपालिका-३, गतलाङमा रहेको स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका हुन् ।


हेमनाथ खतिवडा