स्वास्थ्य चौकीमा एक महिनादेखि स्वस्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती

  ०७३ मङ्सिर १९ गते

सदरमुकाम सिमकोटदेखि ४८ कोष टाढा रहेको मदाना गाविसस्थित स्वास्थ्य चौकीमा एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

मदना स्वास्थ्य चौकीमा विगत एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई उपचारमा समस्या भएको मदना गाविस-४ का स्थानीयबासी चन्द्रमणी ढकालले गुनासो गरेका छन् । उनले भने-'स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा ज्येष्ठ नागरिक, गर्भवती महिला, नियमित औष्धि सेवन गर्ने क्षयरोग र कुष्ठरोगका बिरामी र बालबालिकलाई दिइने नियमित खोप सेवा प्रभावित भएका छन् ।

मदना स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि स्थानीयबासी छिमेकी गाविस मैला स्वास्थ्य चौकीमा करिब तीन घण्टा पैदल हिँडेर उपचार गर्न जाने गरेको स्थानीयबासी वीरबहादुर नेपालीले बताए ।

मौसम परिवर्तनसँगै हुम्लामा रुघाखोकी, टाउको दुख्ने, हातगोडा दुख्नेलगायतका बिरामी बढेको स्थानीयबासी नेपालीले बताए । स्वास्थ्यकर्मी आए कि भनेर स्वास्थ्य चौकीमा बिरामी उपचार गर्न गएपनि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा समस्या बढ्दै आएको स्थानीयबासीको गुनासो छ ।

विभिन्न बहानामा स्वास्थ्यकर्मी जिल्लामा काजमा बस्ने गरेकाले स्वाथ्य चौकीमा कर्मचारीको अभाव भएको स्थानीयबासी जीवन पाण्डेले आरोप लगाए । औषधि भए पनि कर्मचारी नहुँदा उपचार गर्न गएका स्थानीयबासी रित्तो हात घर फर्कने गरेको स्थानीयबासी पाण्डेको आरोप छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा. धुव्र सिंहले मदना स्वास्थ्य चौकीमा इञ्चार्ज, अहेव, अनमी र कार्यालय सहयोगी एक/एक जना गरी चार जनाको दरबन्दी रहेको जानकारी दिए । उक्त स्वास्थ्य चौकीका इञ्चार्ज राजेन्द्र स्याङ्को गाविस स्तरीय भलिवल खेल्न जिल्ला सदरमुकाममा गएको भएपनि अन्य तीन जना सम्पर्कमा नआएको प्रमुख सिंहले बताए । भलिवल खेल सकिएपछि इञ्चार्ज स्याङ्कोलाई तत्काल स्वास्थ्य चौकीमा फर्काउने जनस्वास्थ्य कार्यालयका प्रमुख सिंहले आश्वासन दिए ।


नन्द सिंह