स्वास्थ्य केन्द्रमा औषधिको चरम सङ्कट

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका पाँच ओटा स्वास्थ्य चौकीहरूमा औषधिको चरम सङ्कट परेको छ । त्रिपुराकोट स्वास्थ्य चौकी, पहाडा ,लिकु, ल्हाँ र सुऊका स्वास्थ्य चौकीहरूमा गएको मङ्सिर महिनादेखि औषधिको चरम सङ्कट परेको हो ।

'जिल्ला अस्पताल डोल्पाले असोजको पहिलो सातामा पठाएको १ लाख ५० हजार रुपियाँ बराबरको औषधिले मङ्सिर महिनाको दोस्रो सातासम्म जेनतेन गरेर पुगेको भएपनि झण्डै तीन महिनादेखि औषधिको नाममा सिटामोल सम्म पनि छैन । दिनमा सरदर २५ देखि ५० को हाराहारीमा बिरामी आउँछन तर सामान्य सल्लाह दिएर खाली हात फर्काउने गरेका छौँ ।'-त्रिपुराकोट स्वास्थ्य केन्द्रकी निमित्त प्रमुख अनमी सृजना रोकायाले बताइन् ।

उनले भनिन्-'स्थानीय तह बनिसकेपछि यस मातहतका सबै स्वास्थ्य केन्द्रहरूको रेखदेख तथा औषधि व्यवस्थापन लगायतको सबै जिम्मा नगरपालिकामा सरेको छ । उसैले औषधि खरिद गर्नु पर्ने हो तर बारम्बार जानकारी गराउँदा समेत नगरका पदाधिकारीले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा ध्यान दिन चाहेका छैनन् ।'

त्रिपुराकोट स्वस्थ्य केनद्रमा कुनै पनि सेवाको लागि औषधि नपाएपछि स्वस्थ्यकर्मीहरू आँगनमा घाम तापेर बस्ने गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका अर्न्तर्गतका पाँच स्वास्थ्य केन्द्रहरूको स्वास्थ्य संयोजक रहेका सञ्जयकुमार मण्डल पनि प्राय जसो जिल्ला अस्पतालमा बस्ने गरेको र स्वास्थ्य केन्द्रहरूमा कहिलेकाँही मात्र देखिने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

त्रिपुराकोट स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं १ का अध्यक्ष कर्मसिं थापाले औषधि नभएर समस्या भएको बारे नगरप्रमुख ओमबहादुर बुढालाई बारम्बार जानकारी गराउँदा समेत सुनुवाइ नभएको बताए ।

'नगर परिषद हुँदा औषधिमा भनेर विशेष बजेट विनियोजन गरिएन अस्पतालले नै दिन्छ होला भन्ठानियो तर नगरमै जिम्मेवारी आएकाले गएको पुस १ गते बसेको नगरको बैठकले १५ लाख रुपियाँ औषधि र उपकरण खरिद भनेर निर्णय गरेको तर नगरप्रमुख र उपप्रमुखको कारण खरिदमा ढिलाई भइरहेको हो ।'-निमित्त कार्यकारी अधिकृत हिराचन्द्र धरलाले भने ।

नगरपालिका नजिकै र सबैको केन्द्रमा रहेकाले त्रिपुराकोट स्वास्थ्य केन्द्रमा बिरमीको चाप बढी हुने र औषधि पनि बढी नै खपत हुने भएकाले छिटो भन्दा छिटो औषधि खरिदका लागि आफूले पहल गरिरहेको पनि निमित्त कार्यकारी धरलाले बताए ।

पहाडा स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण कार्कीले पनि पहडामा औषधि नभएर सर्वसाधारणहरू मारमा परेको बताए । औषधिको चरम सङ्कट भएकाले जिल्ला अस्पतालमा मौज्दात भएको औषधि पठाइदिन अनुरोध गरिएको पनि कार्कीले बताए ।

जिल्ला अस्पताल दुनैका प्रमुख डक्टर श्रीकान्त अग्रवालले स्वस्थ्य केन्द्रहरूमा स्थानीय तहले जिम्मेवारी लिएपछि समस्या समाधानको साटो झनै बल्भिmन थालेको बताए । 'औषधि छैन भन्ने पहिले देखि नै सुनेको हो तर नगरपालिकाले औषधि खरिद गर्छ भनेर बाटो हेर्दाहेर्दै आँखा पाट्टियो तर खरिद भएन ।'-उनले भने


विष्णुप्रसाद देवकोटा