स्वास्थ्य उपकरण र औषधि अभावका कारण सेवाग्राही मर्कामा
चन्द्रपुर नगरपालिका–१० बडेरवामा स्थित आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी, औषधि, खानेपानी तथा स्वास्थ्य उपकरण लगायतको अभावमा सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन् ।
प्रदेश सरकारको सहयोगमा करिव आठ कोठे सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएतापनि हालसम्म स्वास्थ्य कार्यालयमा दक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य उपकरणको अभावका कारण सेवाग्राही मर्कामा परेका हुन् ।
स्वास्थ्य केन्द्रमा पाँचौँ तहको दक्ष स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि अहेबलाई इञ्चार्जको जिम्मेवारी दिएर स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको चन्द्रपुर नगरपालिका–१० का वडा अध्यक्ष टङ्केश्वर चौधरीले बताउनु भयो ।
दरबन्दी अनुसार स्वास्थ्यकर्मी नरहेको अहेब नविन चौधरीको भनाइ छ । अहेब चौधरी भन्नु हुन्छ–‘नेपाल सरकारले ९८ प्रतिशत औषधि निःशुल्क स्वास्थ्य संस्थाहरूबाट सेवाग्राहीले पाउने व्यवस्था गरेतापनि १० देखि १२ किसिमको मुस्किलले औषधि पाउने गरेका छौँ ।’
स्वास्थ्यकर्मी लगायत सेवाग्राहीलाई खानेपानीको अभाव रहेको र शौचालय रहेतापनि प्रयोग गर्न पानीको अभाव रहेको उहाँले बताउनु भयो ।
ज्वरो नाप्ने थर्ममिटर, बेड, गर्भवती परीक्षण र वजन नाप्ने मेसिन लगायतका आधारभुत स्वास्थ्य सामग्री समेत नरहेको उहाँले दुःखेको पोख्नु भयो ।
यस विषयमा वडा तथा नगरपालिकामा पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नु भयो ।
स्वास्थ्य केन्द्रकी अनमी सुजिता सुवेदीले भन्नु हुन्छ–‘स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य केन्द्रमा सेवा नपाएपछि गाली गर्दै जाने गरेको तर हाम्रो आफ्नै समस्या छ ।’
खानेपानीको समेत व्यवस्था नभएर कर्मचारी आफैले पैसा उठाएर पानी खरिद गरेर खानुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नु भएको छ ।
चन्द्रपुर नगरपालिका–१० का वडा अध्यक्ष टङ्केश्वर चौधरीसँग कुराकानी गर्दा, वडाबाट गर्न सकिने समस्याहरु जस्तै खानेपानी र शौचालय लगायत सामान्य औषधि तथा स्वास्थ्य उपकरणहरुको लागि वडाबाट तत्कालै समाधान गर्ने र आफू नवनिर्वाचित भएको कारणले गर्दा आफुले सो क्षेत्रलाई सुधार गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सेवाग्राही रामनाथ साह भन्नु हुन्छ–‘सामान्य चोट लागेर स्वास्थ्य केन्द्रमा पुग्दा ड्रेसिङ्लगायत मलम पनि स्वास्थ्य केन्द्रमा नरहेको स्वास्थ्यकर्मीहरुले बताएपछि उपचार बेगरै घर फर्किन लागेकाछौँ ।’
चन्द्रपुर नगरपालिका–१० का वडा सचिव सञ्जय चौधरी भन्नु हुन्छ–‘करिव यो समस्या लिएर नगरपालिकामा १० देखि १५ पटक पुगियो तर समाधान हुन सकेको छैन । सुनुवाइ नै हुँदैन ।’
चन्द्रपुर नगरपालिकाका प्रशासकीय अधिकृत हरिनारायण पुरीले आफू भर्खर तीन र चार दिनदेखि चन्द्रपुर नगरपालिकामा सरुवा भएर आएकाले यस विषयमा अवलोकन गरेर चाँडै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…