स्वास्थ्यचौकी भवन पुननिर्णाम नहुँदा त्रिपालमुनी स्वास्थ्य सेवा सञ्चालन !

  ०८१ असोज १० गते

मष्टा गाउँपालिका–१ स्थित कोटदेवल स्वास्थ्यचौकी भवन भूकम्पका कारण क्षतिग्रस्त भएको एक वर्ष बितिसिक्दा समेत पुननिर्माण नगरिएका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ । भूकक्पका कारण स्वास्थ्य चौकीको भवन क्षतिग्रस्त भएपछि त्रिपालमुनी स्वास्थ्य सेवा सञ्चालन गर्न थालिएको छ ।

२०८० असोज १६ गते आएको भूकम्पले मष्टा गाउँपालिका–१ स्थित कोटदेवल स्वास्थ्यचौकी भवन क्षतिग्रस्त भएको थियो । भवन क्षतिग्रस्त भएपछि सामान्य, जटिल रोगका बिरामी, गर्भवती र सुत्केरी समस्यामा परेका छन् । त्रिपालमुनीे भर्ना गरिएका बिरामी गर्मीका कारण दिउसो बस्न नसक्ने अवस्था सृजना भएको मष्टा गाउँपालिका–१ का झलक ओखेडाले गुनासो गर्नु भयो ।

photo20240925bajhang (2)

मष्टा गाँउपालिकाको कोटदेवल स्वास्थ्यचौकी पूर्ण रुपमा क्षतिग्रत भएपछि प्रसूति सेवा टेन्ट लगाएर सञ्चालन गरिएको छ ।

स्वास्थ्यचौकीको भवन पूर्ण रुपले क्षतिग्रस्त भएपछि सबै सेवा त्रिपालबाट दिन थालिएको कोटदेवल स्वास्थ्य चौकीका प्रमुख प्रकाश खड्काले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘स्वास्थ्यचौकी भवन आफैँ बिरामी भएजस्तो स्थिति छ । गर्मीको समयमा बिरामीलाई त्रिपालमा राखेर उपचार गर्दा निकै समस्या हुनेगरेको छ । तर, स्वास्थ्यचौकीसँग यसको अन्य विकल्प छैन् । एक वर्ष बितिसक्दा समेत स्वास्थ्यचौकी भवन निर्माणमा कसैको चासो छैन् ।’

गत वर्षको असोज महिनाबाट स्वास्थ्यचौकीले त्रिपाल टागेर सुत्केरीलगायतका बिरामीहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको भए पनि गर्भवती र सुत्केरीहरुले सास्ती खेप्नुपरेको मष्टा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रामचन्द्र रोकायाले बताउनु भयो ।

photo20240925bajhang (1)

स्वास्थ्यचौकी भवन निर्माण गर्न वडा कार्यालयको बजेटले सम्भव नभएपछि बजेटको व्यवस्था गर्न गाउँपालिका, प्रदेश र संघीय सरकारसँग माग गरिएको र भवन निर्माण नभएसम्मका लागि वडाकार्यालयबाट स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनु भयो ।

 

 


सत्यराज सिंह