स्वास्थ्यचौकीमा औषधि र कर्मचारीको अभाव, बिरामीलाई सास्ती

सर्केगाड गाउँपालिका–६ अन्तर्गत पर्ने बराई स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि नहुँदा स्थानियवासी मर्कामा परेका छन् ।

गत माघदेखि सो स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि नभएपछि स्थानीयले हैरानी खेपिरहेको स्थानीय पुर्णबहादुर बुढाले गुनासो गरेका छन् ।

बुढाले भने–‘आफ्नो नजिक रहेको यो स्वास्थ्यचौकीमा स्वास्थ्यर्मी र औषधि नहुने हो र हामीले उपचार गर्न नपाउने नै हो भने स्वास्थ्यचौकी राखेर के काम ? बरु स्थानीय औषधिको रुपमा बनजङ्गलको जडिबुटीले नै उपचार गर्छौँ । त्यसैमा सन्तुष्ट रहन्छौँ ।’

स्थानिय बिरामी हुदा निजी मेडिकल खोज्नका लागि पैदल मागबाट तीन दिन लगाएर सदरमुकाम सिमकोटमा पुग्नु पर्ने बाध्यता भएको भक्तराज ऐडीले गुनासो गरे ।

उनले भने–‘महङ्गोमा औषधि किन्नु पर्दा र बाटो खर्चका लागि आफूसँग न्यून आयस्रोत भएपछि घरमै थला परेर बस्नु पर्ने बाध्य भएको छ ।’

सो स्वास्थ्यचौकीमा सामान्य सिटामोल, बुफिनलगायतका औषधि र कर्मचारी नहुँदा साधारण रुघाखोकीका बिरामी हँुदा पनि स्थानीय सिमकोटसम्म धाउनुपर्ने बाध्यता रहेको छ ।

सो स्वास्थ्यचौकीमा ६ जनाको दरबन्दी रहेको भए पनि कार्यालय सहयोगी मात्र रहेको स्थानीयको गुनासो छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर बोहोराले बुझ्दा सो स्वास्थ्यचौकीमा औषधि र कर्मचारी सम्बन्धमा आफूलाई राम्रोसँग जानकारी नभएको बताए ।

उनले सो गाउँपालिकाभर ६ ओटा स्वास्थ्यचौकीमा २० लाख रुपियाँ बराबरको औषधि खरिद गरेर पाँच महिना अगाडि नै वितरण गरेको बताए ।

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भनेपनि हालसम्म ३० प्रकारभन्दा बढी औषधि उपलब्ध हुन नसकेको स्थानीयको आरोप छ ।

दुर्गम गाउँबाट अस्पतालमा आएका बिरामीलाई सामान्य चेकजाँच पछि निजी मेडिकलतिर औषधि किन्न पठाउनुपर्ने बाध्यता भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर दुर्गा सुर्खालीले बताए ।


नन्द सिंह