स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

पश्चिम रोल्पाको राँक स्वास्थ्यचौकीमा दुई हप्तादेखि औषधि अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

उक्त स्वास्थ्यचौकीमा सिटामोल र ब्रुफिन ट्याबलेट बाहेक अन्य औषधि नपाइएको स्थानीय दुर्गेश ओलीले बताए । भाइरल ज्वरोले थलिए पनि स्वास्थ्य संस्थामा सिटामोल मात्र दिएकाले बिरामी निको नभएको उनले गुनासो गरे ।

स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा गाउँमा केही दिन अघिबाट फैलिएको भाइरल ज्वरोका बिरामीहरू मर्कामा परेका छन् । 'स्वास्थ्यचौकीमा औषधि अभाव छ । बाहिर उपचार गर्न जान पनि धेरै टाढा पुग्नुपर्छ । वर्षायाम भएकाले पहिरोले सडक अवरूद्ध भएको हुँदा बिरामीलाई बोकेर लैजान पनि कठिनाइ छ ।'-स्थानीय खगेन्द्र वलीले भने ।

कतिपय बिरामी हिँडेर स्वास्थ्य संस्थासम्म जान नसक्ने भएकाले घरमै थलिएर बस्नुपर्ने अवस्था रहेकोसमेत वलीले गुनासो गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. भवानीप्रसाद शर्माले उक्त स्वास्थ्य चौकीबाट जिल्ला अस्पतालमा औषधि लिन नआएकाले अभाव भएको बताए । जिल्ला स्वास्थ्य कार्यालयमा औषधि भण्डार गरिएको भएता पनि गाउँको स्वास्थ्य चौकीबाट औषधि लिन नआएकाले जिल्ला अस्पतालमा त्यसै राख्नुपरेको उनको भनाइ छ ।


माधवकुमार ओली