स्वास्थ्यचौकीमा उपचार नपाएपछि औषधि पसलेको भर

  ०७३ कात्तिक २५ गते

स्वास्थ्यचौकीमा उपचार सेवा नपाएपछि औषधि पसलेको भर परेर उपचार गर्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

मालिकाठाँटा गाविस-१ पुरू गाउँकी ४५ वर्षीया पाल्के नेपालीले बिरामी हुँदा मेडिकलमा महङ्गो उपचार गराउनु परेको बताइन् । उनले भनिन्- 'कात्तिक २१ गते बिरामी हुँदा गाउँकै स्वास्थ्य संस्थामा उपचार नभएपछि छिमेकीले स्टेचरमा बोकेर गाउँदेखि करिव एक घण्टाको दुरीमा पर्ने रारालिहि गाविसको रारासेरी मेडिकलमा उपचार गर्न जानु पर्‍यो ।'

उनले दम रोगका कारण शरीर सुन्निएकाले मेडिकलमा शरीरबाट पानी निकालेर घर फर्किएको बताइन् । गाविसमा स्वास्थ्य चौकी हुँदाहुँदै मेडिकलमा महङ्गो उपचार गराउनु परेको उनले दुखेसो पोखिन् । उनले भनिन्-'राज्यले निशुल्क स्वास्थ्य सेवा दिएको सुनेको छु । तर, कहिल्यै पनि उक्त सेवा लिन पाएकी छैन ।' इन्सेककर्मीलाई उनले प्रश्न गरिन्-'सरकारले कहाँकहाँका बिरामीलाई निशुल्क दिँदोरैछ ?'

उक्त गाविसका अधिकाँश बिरामी मेडिकलको भरमा पर्ने गरेको स्थानीयबासीको भनाइ छ । स्वास्थ्य चौकीको औषधि पुरानो हुने र उक्त औषधिले सञ्चो नगराउने भएकाले पुरू गाउँका बिरामी मेडिकलमै धाउने गरेको नरिमान नेपालीले बताए । उनले भने-'स्वास्थ्य चौकीमा कर्मचारी आउँदैनन् । कर्मचारी आएपनि निकै ढिलो आउँछन् । ढिलै आएपनि आवश्यक औषधि पाईँदैन । अनि कहाँबाट उपचार पाउनु ?'

मालिकाठाँटा गाविसमा रासामालापानी र जुम्लाकोट गरी दुई ओटा स्वास्थ्य संस्था छन् । सडकले नछोएको गाविस भएकोले औषधि निकै ढिला पुग्ने र कर्मचारीको लापारबाहीका कारण बिरामीले भने अनुसारको सेवा नपाउने मालिकाठाँटा गाविस-२ जुम्लाकोटका हंश बस्नेतले बताए ।

स्वास्थ्य चौकीमा नियमित रूपमा इञ्चार्ज नबस्ने र अन्य कर्मचारीप्रति स्थानीयले विश्वास नगर्ने भएकोले मेडिकलमै उपचार गराउने गरेकोसमेत उनले बताए । उनका अनुसार यहाँका स्थानीय बिरामी कुडारी, रारालिही र जुम्ला कालिकोटको सीमाना नाग्म बजारसम्मका मेडिकलहरूमा उपचारका लागि जाने गर्दछन् ।

स्वास्थ्य चौकीका इञ्चार्ज जगदिश नेपालीले स्वास्थ्य चौकीमा कर्मचारी र औषधिको बाहिर हल्ला भएजति अभाव नभएको बताए । दैनिक दुईचार जना बिरामी उपचारका लागि आउने गरेकोले चौबिसै घण्टा कर्मचारी बस्न नसक्ने उनको भनाइ छ । उनले भने-'हाम्रो उपचारप्रति स्थानीय सन्तुष्ट हुँदैनन्, उनीहरू मेडिकलकै विश्वास गर्छन् ।'

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका निमित्त प्रुमख पृथ्वीनाथ योगीले जिल्लाका कुनै पनि स्वास्थ्य संस्थामा औषधि अभाव नभएको बताए ।


मानदत्त रावल