स्वास्थ्यकर्मी र औषधी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित

सुर्खेतको पूर्वी उत्तरमा रहेका काफलकोट र रानीवास गाविसमा भाइरल ज्वरोका बिरामी बढेसँगै दुवै गाविसमा औषधि अभाव र काफलकोट स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।

भौगोलिक रूपमा जिल्लाकै विकट मानिने दुवै गाविसमा औषधि अभाव र स्वास्थ्यकर्मी नहुँदा त्यहाँका बिरामीले औषधि नपाएको काफलकोट निवासी हरिबहादुर सिंले जानकारी दिए ।

हरिबहादुरका अनुसार दुई महिना अघिदेखि काफलकोट स्वास्थ्य चौकीका इञ्चार्ज सिनयिर अहेव टङ्कप्रसाद पङ्गाली कार्यालयमा छैनन् । 'गाँउभरी भाइरल ज्वरो फैलिएको छ । स्वास्थ्य चौकीमा दैनिक ६० भन्दा बढी भाइरल ज्वरोका बिरामी आउँछन् । तर, औषधि र उपचार गर्ने स्वास्थ्यकर्मी नहुँदा त्यसै फर्कनुपर्ने अवस्था छ ।'-उनले भने ।

सो स्वास्थ्य चौकीमा करार सेवामा रहेकी अनमी पवित्रा कार्कीले भाइरल ज्वरोको औषधि ५ सय र १ हजार एमजीको सेफ्टीजोन सुई नभएको भन्दै बिरामीहरूलाई फर्काउने गरेको सिंले जानकारी दिए ।

यस्तै रानीवास गाविसको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी रहेपनि औषधि अभावमा त्यहाँ जाने बिरामीहरूले पनि उपचार पाउन नसकेको स्थानीयवासी प्रेम रिजालले बताए । उनका अनुसार रानीवास गाविसको सबै वडामा भाइरल ज्वरोका बिरामी देखिएका छन् ।

यसबारेमा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका फोकल पर्सन उदय विसीले दुवै गाविसका स्वास्थ्य चौकीहरूमा औषधि पठाउने तयारी भइरहेको बताए । दुई महिना यता कार्यालयमा अनुपस्थित रहेका सिनियर अहेव पंगालीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको विसीले जानकारी दिए ।


दुर्गा थापा