स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७८ असार १३ गते

तामाकोशी गाउँपालिका–४ स्थित मालुमा सञ्चालनमा रहेको कोभिड अस्पतालमा कार्यरत २८ वर्षीय डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई कुटपिट गरेको आरोपमा सोही ठाउँका २३ वर्षीय गोपाल तिमिल्सिना, २५ वर्षीय रोशन पोखरेल र २१ वर्षीय विजुले नेपालीलाई प्रहरीले असार १३ गते गिरफ्तार गरेको छ ।

अस्पतालको गेट नाघेर असार १२ गते मध्यराती अस्पताल प्रवेश गरेका चार जना व्यक्तिले कोभिड अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीलाई कुटपिट गरेको सूचना प्राप्त हुनासाथ घटनामा संलग्न तीन जना गिरफ्तार गरेको र फरार एक जनाको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी भेषराज रिजालले बताउनु भयो ।

गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा राती १२ बजेको समयमा मदिरा सेवन गरी अस्पताल परिसरमा प्रवेश गरेको अन्य बिरामीको समेत उपचार गर्नको लागि दबाब दिँदै उनीहरूले डाक्टर माथि हातपात गरेको गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताउनु भयो ।

कोरोनाको बिरामी रहेको कारण अस्पताल भित्र प्रवेश नगर्न भनेको र केही स्वास्थ्य समस्या भएमा आफूले कोभिडको बिरामी भन्दा छुटै परीक्षण गराउने बताउँदा एक्कासी उनीहरूले आफूमाथि हातपात गरेको डाक्टर कार्कीले इन्सेकलाई बताउनु भयो ।

राती एक्कासी अस्पतालको गेट नाघेर भित्र आएका चार जनाले आफूहरूमाथि हातपात गर्न थालेपछि भागेर बचेको डाक्टर कार्कीले बताउनु भयो । उहाँले कुटपिटका कारण चोटपटक नलागे पनि आतङ्कित बनेकाे र कतिखेर के हुने हो डर लागि रहेकाे बनाउनु भयो ।

घटनाको विषयमा अनुसन्धान भई रहेको र कानुन अनुसार कारबाही गरिने एसपी रिजालले जानकारी दिनु भयो ।

स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा रहेर कोभिड नियन्त्रणका लागि अस्पतलमा खटिरहेका स्वास्थ्यकर्मीमाथि हातपात हुनु गम्भीर विषय भएको र कानुन अनुसार कारबाही हुनु पर्ने गाउँपालिकाका अध्यक्ष पोखरेलले बताउनु भयो । ।


उद्धव पोखरेल