स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

  ०७७ माघ २७ गते

मुगुम कार्मारोङ गाँउपालिका–२ मुगुमको स्वास्थ्य चौकीमा एक साता देखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट बञ्चित हुन पुगेका छन ।

स्वास्थ्य चौकीका इन्चार्ज बिरजङ्ग मल्ल, अनमी सोनाम लामा माघ १८ गते देखि स्वास्थ्य चौकीमा अनुपस्थित हुँदा स्थानीयले सेवा लिन नपाएको मुगुम कार्मारोङ गाँउपालिका–२ का उर्गिन तामङले बताउनुभयो ।

‘स्वास्थ्यकर्मीहरू वर्षमा ६ महिना समेत नियमित बस्दैनन्, कहिले तालिम त कहिले अरू कामको बहानामा सदरमुकामतिरै बस्छन् । बसिहाले पनि हप्तामा पालो गरेर बस्ने गरेका छन् ।’ उर्गिनले गुनासो गर्नुभयो ।

बिरामी हुँदा एक दिन पैदल हिडेर पुलु स्वास्थ्य चौकीमा आएर फर्किन परेको र घरेलु उपचार गर्न बाध्य भएको टासीछिरीङ तामाङ्गले गुनासो गर्नुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीमा कोहि नभएपछि स्थानीयहरू गाउँपालिका केन्द्र रहेको पुलु बगरमा पुगेर पनि उपचार लिइरहेका छन् ।

इन्चार्ज बिरजङ्ग मल्ल गाँउपालिकाको स्वास्थ्य शाखाका काम भएको भन्दै माघ १७ गते हिडेको, अनमी सोनामा लामा बिना जानकारी सदरमुकाम हिडेको र एक जना करार अनमी समेत लोकसेवा परीक्षा दिन भनेर एक महिना अगाडी काठमाण्डौ गएको मुगुम कार्मारोङ गाँउपालिका—२ का वडा अध्यक्ष कार्मा तामङले बताउनु भयो ।

अध्यक्ष तामाङले थप्नुभयो ‘सहयोगी समेत सदरमुकाममै रहेकाले स्वास्थ्य चौकी बन्द भएर सर्र्वसाधारणलाई सास्ती भएपनि स्वास्थ्यकर्मीलाई एक दुई दिन भित्र अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।’

तोकेको समयमा उपस्थित नभए वडा कार्यालयले आवश्यक काबाहीका लागि गाँउपालिकालाई पत्रचार गर्ने पनि अध्यक्ष तामाङले बताउनुभयो ।


जीवन सेजुवाल