स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

  ०७६ फागुन २७ गते

जिल्लाको खाडाँदेवी गाउँपालिको स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा समस्या देखिएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरू समायोजन भएर अन्यत्र गएपछि सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनु भयो ।
गाउँपालिकामा कुल १३ ओटा स्वास्थ्य संस्थामा ४१ जना स्वास्थ्यकर्मीहरूको दरवन्दी रहेकोमध्ये हाल २४ जना स्वास्थ्यकर्मीले मात्र सेवा प्रदान गरिरहेका छन् । स्वास्थ्य संस्थामा आठजना हेल्थ असिस्टेन्टको दरबन्दी रहेकोमा पाँचजनाको दरबन्दी रिक्त छ । १६ जना अहेवमा तीनजनाको दरबन्दी रिक्त रहेको छ भने १७ जना अनमीको दरबन्दीमा नौ रिक्त रहेको छ । स्वास्थ्यकर्मीको अभावको कारण सेवा प्रवाहमा समस्या भएको श्रेष्ठेल बताउनु भयो ।Photo20200310Ramechhap
एक जना हेल्थ असिस्टेन्ट, दुईजना अहेव र एक रेमिङ सहित तीनजना अनमीको दरबन्दी रहेक खाँडादेवी गाउँपालिका–६ को स्वास्थ्य चौकी खाँडादेवीमा एकजना अहेव र दुईजना करारका अनमीहरूले सेवा प्रवाह गरि रहेका छन् । २४ घण्टे प्रसूती सेवा समेत चलाउनु पर्ने यो स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा काम गर्न निक्कै समस्या भएको स्वास्थ्य चौकीकी अनमी सरिता भण्डारीले बताउनु भयो ।
एकजना अहेव र दुईजना अनिमिले स्वास्थ्य संस्था सञ्चालन गरि रहेको खाँडादेवी–१ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ बताउनुहुन्छ । स्वास्थ्य चौकीलाई पूवार्धारको हिसावले राम्रो बनाएको भए पनि कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको उहाँले बताउनु भयो ।
यो गाउँपालिकामा कुल आठ ओटा स्वास्थ्य चौकी, चार ओटा सामुदायिक स्वास्थ्य एकाइ र एक आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभवाकारी बनाउन भौतिकपूर्वाधारमा सुधार, स्वास्थ्य संस्थाको व्यवस्थापन तथा उपकरण र औषधिमा लगानी गरेको भए पनि केन्द्र सरकारले दरबन्दी अनुसारका कर्मचारी नपठाउँदा सेवा प्रवाहमा निक्कै समस्या भएको गाउँपलिका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनु भयो । गाउँपालिकाले केही स्वास्थ्य चौकीमा करार सेवामा नर्सिङ्ग स्टाफहरू राखेको भए पनि त्यसले समेत धान्न नसकेको तामाङले बताउनु भयो ।


नवराज पथिक