स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

कुश्मा नपा९ कटुवाचौपारीमा संचालित कटुवाचौपारी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नियमित रुपमा उपस्थित नहुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँमा नै स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकी स्थापना भएपनि स्वास्थ्यकर्मी नबस्दा कटुवाचौपारीका बासिन्दा सामान्य बिरामी पर्दा पनि सदरमुकाम कुश्माबजार स्थित जिल्ला अस्पतालमा धाउन बाध्य भएका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब पदका कर्मचारी तथा स्वास्थ्य चौकी इन्चार्ज विनोद श्रेष्ठको अनियमित उपस्थितीले यो समस्या भएको हो । उहाँ आफ्नै नीजि क्लिनिकमा बिरामी जाँच्न थालेर स्वास्थ्य चौकीमा नगएपछि समस्या भएको स्थानीयवासी राम पौडेलले बताउनुभयो ।

महिनामा १५ दिन पनि आउनुहुन्नपौडेलले भन्नुभयो आएपनि ११ बजे आउने र २ बजे फर्किने गर्नुहुन्छ ।उहाँका अनुसार स्वास्थ्यकर्मी नहुँदा टाउको दुखेको औषधी खानपनि कुश्माबजारमा नै पुग्नुपर्ने अवस्था छ ।

सामान्य ज्वरो खोकीले ग्रस्त भएपछि स्वास्थ्य चौकी पुग्नुभएका कटुवाचौपारीका २७ वर्षीय सुवास लामिछानेले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभेटेपछि आफु त्यत्तिकै फर्किएको बताउनुभयो । उहाँले सामान्य विरामी पर्दा समेत सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

जिल्ला अस्पताल व्यवस्थापन समिति पर्वतका अध्यक्ष गोविन्द पहाडीले पछिल्लो समयमा स्वास्थ्य क्षेत्र स्थानीय तहमा समायोजन भएपछि आफुहरुलाई गाउँगाउँबाट गुनासो आएको तर गर्न केही नसकिएको बताउनुभयो ।

उहाँले कटुवाचौपारीका बासिन्दाहरुले पनि स्वास्थ्य चौकीमा सहज सेवा नपाएको भन्दै आफुहरुलाई पटक पटक गुनासो गर्ने गरेको बताउनुभयो । पहाडीले स्थानीय तहनै कार्यवाही गर्ने जिम्मेवार निकाय भएकाले आफुले केही गर्न नमिल्ने बताउनुभयो ।

कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत हरि पंगेनीले यस विषयमा सोधपुछ गर्दा आफुलाई सो बारेमा केही थाहा नभएको बताउदै कर्मचारी समायोजन प्रक्रिया चलिरहेकाले यो समस्या उत्पन्न भएको हुन सक्ने बताउनुभयो । उहाँले छिट्टैनै वास्तविकता बुझेर सर्वसाधरणलाई सेवा प्रदान गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रेष्ठले कुश्माबजार स्थित पर्वत मेडिकल हल सञ्चालनमा ल्याएर व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । सरकारले स्वास्थ्यको अधिकार सर्वसाधारणलाई गाउँसम्म पु¥याएपनि स्वास्थ्यकर्मीका कारण सेवा उपभोग गर्न नपाइएको सर्वसाधारणले गुनासो गरेका छन् ।

 


सन्तोष थापा