स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीलाई समस्या

  ०७९ असोज १० गते

जिल्ला कारागार कार्यालय म्याग्दीमा स्वास्थ्यकर्मीको दरबन्दी रहेको भए पनि पछिल्लो दुई वर्षदेखि रिक्त हुँदा कैदी बन्दीहरूलाई सास्ती भएको छ ।

बेनी नगरपालिका–२, ज्यामरूककोटस्थित खबरामा रहेको २५ पुरूष र सात महिला गरी ३२ जना क्षमताको कारागारमा अहिले १९ बन्दीसहित ८३ पुरूष र दुई जना महिला गरी ८५ जना कैदीबन्दी रहेका छन् ।

कारागार कार्यालय म्याग्दीका जेलर धीरेन्द्रराज पन्तका अनुसार कार्यालय प्रमुख अधिकृतस्तर एकजना, नायब सुब्बा एक, खरिदार एक, सह–लेखापाल एक, सहायक कम्प्युटर अपरेटर एक, अहेब एक र चारजना कार्यालय सहयोगीको दरबन्दी रहेको भए पनि साढे दुई वर्षदेखि अहेब रिक्त हुँदा कैदीबन्दीलाई समस्या भएको छ ।

पन्तले भन्नुभयो–‘म आएको डेढ वर्ष भयो म आउनुभन्दा पहिला एक वर्षदेखि नै अहेब नरहेको अघिल्ला जेलर राजेन्द्र शर्माले भन्नुभएको थियो ।’

कारागारमा अहेब नहुँदा कारागारमा रहेका कैदीबन्दीको उपचारमा निकै समस्या भएको कारागारका चौकीदार बसन्त रोकाले बताउनु भयो ।

मालिका गाउँपालिका–६, दरबङ घर भई कैद भुक्तानी गरिरहेका चौकीदार रोकाले भन्नु भयो–‘नियमित औषधि खानुपर्ने सुगरका दुई जना, प्रेसरका ६ जना बिरामी हुनुहुन्छ । उहाँहरूको स्वास्थ्यको निगरानी गरिरहनुपर्ने भए पनि लामो समयदेखि कारागार कार्यालयमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।’

सामान्य समस्या भयो भने पनि कैदीबन्दी बेनी अस्पतालमा पुग्नुपर्छ । कैदीबन्दीको समस्या समाधानका लागि भए पनि राज्यले उचित ध्यान दिनुपर्ने रोकाको भनाइ छ ।

कैदीबन्दी बिरामी पर्दा उपचारका लागि बाहिर जानका लागि प्रक्रिया पु¥याएर जानुपर्ने भएकाले पनि जटिल समस्या हुन सक्नेतर्फ राज्यको ध्यान पुग्नुपर्ने रोकाले बताउनु भयो ।

जिल्ला कारागार कार्यालय म्याग्दीमा ७० वर्षभन्दा माथिका एक जना थुनुवा र ६० देखि ७० वर्षसम्मका तीन जना कैदी रहेका छन् ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले दरबन्दीका स्वास्थ्यकर्मीको पदपुर्तिको लागि पहल गर्ने बताउँदै एक हप्ताभित्रै स्वास्थ्यकर्मी कारागारमा उपलब्ध हुने वातावरण बनाउने प्रतिबद्धता जनाउनु भयो ।


अमृतप्रसाद पौडेल