म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग गरेको आरोपमा प्रबन्ध निर्देशक र डा. गिरफ्तार

वीरगंज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) ३१ वर्षीय सहनवाज अन्सारी र ३७ वर्षीय डा. सञ्जय साहलाई ०८० चैत  २६ गते जिल्ला प्रहरी कार्यालय पर्साले गिरफ्तार गरेको छ ।

अस्पतालमा म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महनगरपालिकाको वडा नम्बर ८ निवासी अन्सारी र सप्तरीको बोदेबर्साईन नगरपालिकाको वडा नम्बर १० का डा. साहलाई गिरफ्तार गरेको डिएसपी केशर न्यौपानेले जानकारी दिनु भयो ।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा चैत २६ गते अनुगमन गर्न गएका जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुङ्गेल, वीरगंज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रम्हदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो, औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सहितको महानगरको अनुगमन टोलीले अस्पतालमा म्याद गुज्रिएको केमिलक र औषधी बरामद गरेपछि थप अनुसन्धानका लागि प्रबन्ध निर्देशक अन्सारी र डा. साहलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी केशर न्यौपानेले जानकारी दिनु भयो ।

अनुगमनको क्रममा अस्पतालको प्रयोगशालामा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याद गुज्रिएका केमिकल र फार्मेसीमा म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताउनु भयो ।

सन् २०२१ फरवरीमै म्याद गुज्रिसकेका ४० भन्दा बढी प्रकारका केमिकल तथा औषधीहरू मेडिकल कलेजको ल्याब, फार्मेसी र फ्रिजमा भेटिएको उहाँले जानकारी दिनु भयो । "ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरू समेत म्याद गुज्रिएको भेटियो", उहाँले भन्नु भयो ।

त्यस्तै, गिरफ्तार भएका दुबै जना विरुद्ध कालोबजारी मुद्दा दर्ता गर्नुका साथै उनीहरू स्वास्थ्यमा समस्या भएको भन्दै उनीहरूलाई वीरगंज हेल्थ केयर अस्पतालमा लगिएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

यसैबीच, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीहरू तथा नेपाल चिकित्सक संघ नारायणी शाखाले निर्देशक अन्सारी र डा. साहलाई रिहाइ गर्न माग गर्दै चैत २७ गते जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्नुको साथै प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।

घटनाको थप अनुसन्धानका लागि चैत २७ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो ।

Photo 20240410 Parsa


शम्भुकुमार सुमन