स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार घटनाका विषयमा गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक

  ०७८ जेठ २१ गते

भेरी अस्पताल, नेपालगञ्जमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार घटनाका विषयमा गठित छानविन समितिले जेठ १९ गते प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी  शिवराम गेलालले दोषीलाई कारबाही सिफारिस गरेको बताउनु भयो ।

प्रतिवेदनमा भेरी अस्पतालले तुलनात्मक रुपमा वर्तमान विषम परिस्थितिमा आफ्नो क्षमता भन्दा बढी बिरामी भर्ना तथा उपचार गरेको र कयौँ नागरिकको जीवन रक्षा गरेको यथार्थ हुँदाहुँदै सेवाग्राहीको सन्तुष्टि नै सफलताको मापन हुने हुँदा सेवाग्राहीलाई सेवा लिन भौतारिनु पर्ने अवस्थाको अन्त्य हुन नसकेको, अस्पतालमा उपलब्ध सेवा सुविधा खासगरी कोभिड उपचार लक्षितका सम्बन्धमा सर्व साधरणको जानकारीका लागि सूचना सम्प्रेषणको प्रभावकारी संयन्त्रको विकास हुन नसकेको उल्लेख छ ।

यसैगरी, भेरी अस्पताल आव ०७६/०७७ देखि नेपाल सरकारको विशिष्टिकृत अस्पतालको रूपमा रहेको अस्पतालले प्रदान गरिने सेवाको तुलनामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भई सधैँ अरुको भर पर्नु परेको, स्वीकृत स्थायी दरबन्दीसमेत पुर्ति हुन नसकेको, आइसीयू कक्ष जस्तो अति संवेदनशील स्थानमा अनाधिकृत व्यक्तिको प्रवेशमा रोक लगाउन नसकेको, बिरामी कुरुवाको आवागमन व्यवस्थित गर्न नसकेको, अस्पतालको सबै वार्डमा सुरक्षा सम्वेदनशीलताका प्रयासका लागि सिसि क्यामरा जडान हुन नसकेको जस्ता अस्पताल व्यवस्थापनका कमी कमजोरी प्रतिवेदनमा उल्लेख गरिएका छन् ।

कोभिड बिरामीको विषयलाई लिएर जेठ १३ गते राति अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि कुटपिट र दुर्व्यवहार भएको थियो । सोही दिन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको थियो ।

उक्त घटनाको चौतर्फी विरोध र स्वास्थ्यकर्मीहरूले कारबाहीको माग गरेपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय छानविन समिति गठन गरिएको थियो ।


स्मृति देवकोटा