स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !

  ०८१ असोज २ गते

गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् ।

सोही गाउँपालिका वडा नम्वर २ का पुर्व वडा अध्यक्ष देउबहादुर गुरुङको नेतृत्वमा आएको समूहले कुटपिट गरेको कुशवाहले आरोप लगाउनु भएको छ । पुर्व वडा अध्यक्ष गुरुङले भने पहिले स्वास्थ्यकर्मीबाटै हातपात भएको दावी गर्नु भयो ।

भदौ ३१ गते गण्डकी गाउँपालिका–२ को ताङलीचोक स्वास्थ्य चौकीमा स्वास्थ्य उपचार गराउन गएका कुशवाहलाई कुटपिट भएको मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले असोज १ गते निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘गाउँपालिकाद्वारा सञ्चालित घरघरमा डाक्टर कार्यक्रम अन्तर्गत ताङलीचोक स्वास्थ्य चौकीमा सेवा दिने क्रममा कार्यलयमा कार्यरत मेडिकल अधिकृत तथा इन्चार्जमाथि कुटपिट भएकोमा विरोध गर्दछौँ ।'- विज्ञप्तिमा भनिएको छ-‘ड्युटिको बेला नागरिकलाई सेवा दिने उद्देश्य राखी आफ्नो स्वास्थ्य संस्था समेत छाडेर घरदैलोसम्म सेवा दिँदा पनि आक्रमण हुँदा यस स्वास्थ्य संस्थाका कर्मचारी असुरक्षित महसुस गरेका छौँ ।’

डर र त्रासको वातावरणमा काम गर्न असमर्थ रहेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विवाद समाधानको प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ । भदौ ३१ ग्ते पनि ताङलीचोक स्वास्थ्य चौकिमा नै एक चरण छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताउनु भयो । पुनः छलफल गरी विवाद समाधान गरिने उहाँको भनाइ छ । यस  विषायमा प्रहरीमा उजुरी नै नपरेको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेति