स्वास्थ्यकर्मीमाथि कुटपिट घटनाका आरोपित धरौटीमा रिहा

  ०७८ असार ७ गते

स्वास्थ्यकर्मीमाथि कुटपिट घटनाका आरोपित दाङ जिल्ला तुलसीपुर नपा–११ का ५० वर्षीय भरत रावत, २८ वर्षीय योगराज रावत र ४८ वर्षीय मानबहादुर रावतलाई  जिल्ला अदालतले  असार ६ गते जनही ५० हजार रुपियाँ धरौटी तारेखमा रिहा गरेको छ ।

जेठ १३ गते अस्पतालमा ५४ वर्षीय परुषको मृत्यु भएको विषयलाई लिएर कोभिड सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू २६ वर्षीय डाक्टर चन्द्रप्रकाश साहु, २४ वर्षीया अस्मिन गुरुङ, १९ वर्षीया सदिक्षा गैरै , २५ वर्षीया रिता अधिकारी र २४ वर्षीया भावना श्रेष्ठमाथि कुटपिट र  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आरोपितहरूलाई सोही दिन गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले जनही ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टले बताउनु भयो ।

घटनाको चौतर्फी विरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । छानविन समितिले भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्समाथि सांघातिक आक्रमण भएको ठहर गर्दै दोषीलाई कारबाही गरिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिबेदन बुझाएको थियो ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज