स्वास्थ्यकर्मीद्वारा नगरपालिका कार्यालयमा धर्ना, सेवाग्राही प्रभावित

पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले असार २७ गते भेरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । स्वास्थ्यकर्मीहरूले जिल्ला अस्पतालको सम्पूर्ण सेवा ठप्प गरेर नगरपालिकामा धर्नामा सहभागी भएपछि सेवाग्राही प्रभावित भएका हुन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले यस विषयमा असार २६ गते जिल्ला प्रशासन कार्यालयमा र असार २७ गते भेरी नगरपालिकाको कार्यालयमा ज्ञापन-पत्र बुझाएका छन् ।

Photo20180711Jajarkot

जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएको दुई हप्ता बितिसक्दा पनि सम्बन्धित निकायले समस्या समाधानमा कुनै चासो नदेखाएको अस्पतालका प्रमुख डक्टर राजेन्द्र लामाले गुनासो गरे । प्रत्येक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाउँदा आन्दोलनमा उत्रिएको उनले बताए ।

दुई हप्ता अघि हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले एक हप्तादेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर विरोधमा उत्रिएका हुन् । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ । उपचारका लागि अस्पताल आउने बिरामी उपचार नपाएर फर्कन बाध्य भएका छन् ।

समयमा निकासा नहुँदा जाजरकोट अस्पताल र भेरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब भत्ता पाउन नसकेका हुन् । यसअघि हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब नपाएको बताउँछन् ।

भेरी नगरपालिका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले ०७४ फागुनदेखि तलब भत्ता र ०७४ पुसदेखि अतिरिक्त भत्ता नपाएको जाजरकोट अस्पतालका प्रमुख डक्टर राजेन्द्र लामाले जानकारी दिए ।

'भोको पेटले कसरी काम गर्न सकिन्छ ? आर्थिक वर्षसकिन लाग्दा पनि तलब निकासाबारे कुनै टुङ्गो लाग्न सकेको छैन । हाम्रो कुरालाई कुनै निकायले गम्भीरतापूर्वक लिन नसक्नु दुर्भाग्य हो ।'-उनले भने-'तलब नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ । हामी उपचार सेवा ठप्प पार्छौँ र काम गर्दैनौँ ।'

जिल्ला अस्पतालमा कार्यरत ५७ जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र भेरी नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले हालसम्म तलब भत्ता पाउन नसकेका हुन् ।


दिनेशकुमार श्रेष्ठ