स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन नै लोकतन्त्रको आधार –सचिव दुवाडी

निर्वाचन आयोगका सचिव दुर्गामणि दुवाडीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन नै लोकतन्त्रको आधार भएको बताउनु भएको छ । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन नभए लोकतन्त्र नै धरापमा पर्ने सचिव दुवाडीको भनाई थियो ।

स्वच्छ, निष्पक्ष, भयमुक्त र विश्वसनीय वातावरणमा सबै मिलेर निर्वाचनलाई सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै यो उदेश्य प्राप्तीमा सबैको सकारात्मक सहयोग भएमा मात्रै हामीले खोजेको लोकतन्त्र सुदृढ हुने सचिव दुवाडीले बताउनु भयो ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि शान्ति सुरक्षाको अन्तिम तयारी मतदान केन्द्र आचारसंहिता उल्लङ्घनको अवस्था लगायतका विषयमा जानकारी लिन सचिव सहितको ६ सदस्यीय निर्वाचन आयोगको टोली मङ्सिर १ गते डोल्पा पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पामा निर्वाचन आयोगको उपस्थितिमा भएको सर्वपक्षीय सर्वदलीय अन्तरक्रियामा आयोगका सचिव दुवाडीले स्वच्छ, निष्पक्ष, भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।

अन्तरक्रियामा सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज र संचारकर्मिले विगतमा उपल्लो डोल्पामा बुथ कब्जा गरेर एकै समूहका व्यक्तिले मात्र मत खसाल्ने गरेकाले अवका दिनमा त्यस्तो किसिमको वातावरणको अन्त्यका लागि आयोग गम्भिर भएर लाग्नु पर्ने सुझाएका थिए ।

मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले निर्वाचनमा खटिएका कर्मचारीलाई कोही कसैको लोभलालच र आर्थिक प्रलोभनमा नपरेर कर्तब्य निष्ठ आयोगप्रति बफादार भएर अपाङ्ग, अशक्त र आँखा नदेख्ने बाहेक अन्यको वारिस मत खसाल्न समेत नदिन निर्देशन दिएको बताउनु भयो ।

निर्वाचन प्रचारप्रसार र घरदैलो अभियानमा आफ्नो पक्षमा मत माग्न उम्मेद्वारले निर्वाचन आचारसंहिता विपरित खसी राँगा काट्ने रगतमा औला चोपाउने लगायत रकम समेत वितरण गर्ने गरेको हल्ला आएपनि आधिकारिक रुपमा जानकारी नआएको त्यस्ता गतिविधिको लिखित उजुरी परेमा कारवाहीमा कुनै कसुर बाँकी नराख्ने बताउनु भयो ।

आयोगका सचिव दुवाडी कर्णाली प्रदेश प्रमुख सचिव डा. गोपीकृष्ण खनाल सहितको ६ सदस्यीय टोली जिल्लाको निर्वाचन सम्बन्धि सम्पूर्ण जानकारी लिएर फर्केको छ ।


विष्णु प्रसाद देवकोटा