स्वच्छ, निश्पक्ष र धाधलि रहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छौं : अधिकृत अधिकारी

  ०७९ वैशाख २६ गते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले जिल्लामा स्वच्छ, निश्पक्ष र धाधलि रहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले वैशाख २६ गते गरेको जिल्लाको मानव अधिकारको अवस्था र निर्वाचन पूर्व अनुगमनको क्रममा अधिकृत अधिकारीले मुख्य निर्वाचन अधिकृतको रुपमा प्राप्त जिम्मेवारी निर्वाह गर्ने र विभिन्न मतदान स्थल तथा मतदान केन्द्रमा खटिने कर्मचारीको व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको बताउनुभयो ।

उहाँले जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा निर्वाचनको कार्यक्रम अगाडि बढेको बताउनुभयो ।

अहिले कार्यालयले जिल्लामा निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्थाको अवलोकन गरिरहेको उहाँले बताउनुभयो ।

Photo20220509Nawalpur1

सामान्य रुपमा आचारसंहिता उल्लङघनको जानकारीहरु आउने गरेको र त्यसको कार्यान्वयनको लागि आफूहरुको तर्फबाट आवश्यक कदम चालिरहेको उहाँले बताउनुभयो ।

स्थानीय स्तरमा केही समस्याहरु देखिएपनि जिल्ला तहमा राजनितिक दलहरुबिच सहकार्य र सहमती हुँदा ती समस्याहरुको पनि निराकरण भइरहेको उहाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचनलाई भय रहित, स्वच्छ, निश्पक्ष र धाधलि रहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनितिक दल सबै प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन तीन तहमा निर्वाचन सुरक्षा प्रबन्ध मिलाएको बताउनुभयो ।

स्थानीय विशेष सुरक्षा व्यवस्था गरी निर्वाचन कार्यालय, उम्मेदवार, निर्वाचन सामाग्री, दलको प्रचारप्रसार, मतदान सुरक्षा, मतदान केन्द्र सुरक्षा गरी तीन तहमा सुरक्षा प्रबन्ध गरिएको उहाँले बताउनुभयो ।

Photo20220509Nawalpur2

‘एउटा मतदान केन्द्रमा सुरक्षा संवेदनशिलता हेरेर ८ देखि २८ जना सम्मको सुरक्षा व्यवस्था गरिएको छ’– उहाँले बताउनुभयो ।

उहाँले निर्वाचन पूर्व हुनसक्ने संभावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर रात्रीगस्ती बढाएको बताउनुभयो ।

हालसम्म आचारसंहिता उल्लङघनको मैखिक उजुरी मात्रै आएको घिमिरेले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी प्रज्वल महर्जनले निर्वाचन सम्पन्न गर्न जिल्लामा भएको प्रहरी जनशक्तिको प्रयोगसंगै अन्य जिल्लाबाट समेत सुरक्षाकर्मीहरु थपिएको बताउनुभयो ।

उहाँले मतदान केन्द्रको पहिलो सुरक्षा नेपाल प्रहरीले गर्ने जिम्मेवारी अनुसार प्रहरी, म्यादी प्रहरीहरुलाई आआफ्नो कार्यस्थलमा खटाउने कार्य जारी रहेको बताउनुभयो ।

यस अगाडि एसपी महर्जनले जिल्लामा मानवअधिकारको संरक्षणमा आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

प्रहरीले न्यूनतम बल प्रयोगको सिद्धान्त अनुसार काम गरिरहेको भन्दै केही समय अगाडि गैंडाकोटमा भएको घटनामा हुनसक्ने क्षतिलाई कम गर्न प्रहरीले आफ्नो स्थानबाट सक्दो प्रयास गरेको बताउनुभयो ।

उहाँले महिला हिंसा, हराउने महिलाको सङख्या, आत्महत्याको दर, सेफ हाउसको सवालहरु जिल्लामा रहेको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल, इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा, गण्डकी प्रदेश निर्वाचन पर्यवेक्षण समितिकासदस्य प्रेम चोम्याङ, इन्सेक जिल्ला प्रतिनिधि सहितको टोलीले जिल्लामा मानव अधिकार र निर्वाचन पूर्व अनुगमन गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा भएको भेटघाटको क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानव अधिकारको संरक्षणमा कार्य गर्दै आएको र निरन्तर रुपमा निर्वाचनको पर्यवेक्षणको काम गरिरहेको जानकारी गराउनुभएको थियो ।


तिर्थराज डुम्रे