स्वच्छ निर्वाचनका लागि सरोकारवालाबिच अन्तरक्रिया

स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि रोल्पाका सरोकारवालाबिच जेठ २८ गते अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग पूर्व आयुक्त समाजको आयोजना र इन्सेक रोल्पाको संयोजन तथा कोक्यापको सहकार्यमा उक्त अन्तरक्रिया रोल्पाको लिबाङमा आयोजित भएको हो ।

कार्यक्रमममा पूर्व आयुक्त डा. गौरीशङ्कर लाल दासले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार खेास्न नहुनेमा जोड दिए ।

कार्यक्रममा पूर्व आयुक्त एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले निर्वाचन आयोग स्वायत्त निकाय भएकाले उसलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने र आयोगले पनि स्वतन्त्र रूपमा आफ्नो काम गर्नुपर्नेमा जोड दिए ।

रोल्पाका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीले निर्वाचनका गतिविधि राजनीतिक दलले केन्द्रबाटै हस्तक्षेप गरेकाले निवार्चन आयोगले स्वतन्त्र रूपमा काम गर्न नसकेको भन्दै पटक पटक निर्वाचनको मिति सार्दा निराशा बढाएको बताए ।

जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले निर्वाचनको आचारसंहितालाई अनुगमन गरी लागु गर्नुपर्ने बताएका थिए ।


माधवकुमार ओली