स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको टोली गोरखामा
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत वैशाख २१ गते गोरखा सदरमुकाममा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।
अभियानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा निर्वाचनको चहलपहल तथा निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका बारेमा छलफल गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष मोहनलाल श्रेष्ठले स्थानीय तहको निर्वाचनको मतपत्रका बारेमा जनता अनविज्ञ रहेको बताउँदै यो निर्वाचमा मतदान कसरी गर्ने भन्ने बारेमा थप शिक्षा नदिने हो भने मत बदर हुने सम्भावना बढी रहेको बताए । श्रेष्ठले मानव अधिकारकर्मीले निर्वाचन पर्यवेक्षणका क्रममा आचारसंहिता उल्लङ्घन गरिएका घटनाका बारेमा राज्यलाई खबरदारी गरेको भएपनि दोषीलाई सजाय दिनेतर्फराज्य गम्भीर नभएको गुनासो गरे ।
कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएशन गोरखाका यादवप्रसाद शर्माले मानव अधिकार र निर्वाचन दुवै विषय अन्तरसम्बन्धित भएका कारण मतदाता सचेत भएमा मात्रै असल नेतृत्व चयन हुने र मानव अधिकारको प्रत्याभूति हुने बताए । शर्माले निर्वाचनमा उम्मेदवारलाई मत कसरी र कसलाई दिने भन्ने बारेमा मतदाता गम्भीर हुनुपर्ने सुझाव दिए ।
यसैगरी सञ्चारकर्मी प्रशन्न पोख्रेलले निर्वाचनले गर्दा सम्पूर्ण कर्मचारी निर्वाचनमा केन्द्रीत भएकाले भूकम्प पीडितको समस्या ज्यूँका त्यूँ रहेको र पुनःनिर्माण कार्यक्रम सुस्ताउने चिन्ता व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्ने काम राजनीतिक दल र उम्मेदवार दुवैको भएका कारण आचारसंहिताको पालना गर्दै ति पक्षले आफ्नो जिम्मेवारी बहन गर्न जोड दिनुपर्ने बताए ।
साथै अध्यक्ष प्याकुरेलले चुनाव नजिकिँदै गर्दा सञ्चारकर्मीहरूले समेत समयसमयमा राजनीतिक दल र मतदाताबिच अन्तरक्रिया र बहस कार्यक्रमको आयोजना गर्नुपर्ने सुझाव दिए । निर्वाचन नभई सङ्घीयता र संविधान दुवै पक्ष कार्यन्वयन हुन नसक्ने बताउँदै इन्सेकका अध्यक्ष प्याकुरेलले निष्पक्ष र स्वच्छ निर्वाचनका लागि मानव अधिकारकर्मी एकजुट भएर स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सुरू गरेको जानकारी दिए ।
कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष तथा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, निर्वाचनका लागि युवा, साझा अभियानका लोकराज अवस्थी, सामुदायिक रेडियो प्रशारक सङ्घका प्रदेश नम्बर ४ का अध्यक्ष शान्ति गुरूङ, नेकपा एमालेका नगर संयोजक सानुमाया बस्नेत, राप्रपा गोरखा जिल्ला अध्यक्ष रूद्रराज पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्सेक क्षेत्रीय कार्यलय, पोखराका संयोजक शिव खकुरेलले गरेका थिए । स्वच्छ निर्वाचनका लागि साझा अभियानमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल मानव अधिकार सङ्गठन(ह्युरोन), निर्वाचन पर्यवेक्षण समिति नेपाल, सामुदायिक रेडियो प्रशारक सङ्घ र बहिर्गमित पूर्व लडाकु नेपाललगायतका संस्था रहेका छन् ।
इन्सेक क्षेत्रीय कार्यलय, पोखरा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…