स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वरा जेठ २९ गते नवपरासीको जिल्ला सदरमुकाम परासीमा मानव अधिकार र निर्वाचन विषयक अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।Nawalparasi 1

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रको मेरूदण्ड भनेको निर्वाचन भएको बताउँदै त्यसलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । आफ्ना असन्तुष्टि र मागहरू निर्वाचनको प्रक्रियाबाट पनि सम्बोधन गराउन सकिने र राज्यका तर्फाट मधेसका माग सम्बोधन होस् भन्ने उद्देश्यले इन्सेकले स्थानीय तह वृद्धिका लागि आयोग गठन गर्न आफ्नो तर्फबाट ठूलो प्रयास गरिरहेको अध्यक्ष प्याकुरेलले बताए ।Nawalparasi 2

उनले मधेसीको अधिकार स्थापित गर्न इन्सेक सदैव तत्पर रहेको र पटकपटक मधेसी आवाजलाई बुलन्द गरेको समेत जानकारी गराउँदै आगामी दिनमा पनि अधिकार स्थापनाको लागि अगाडि बढ्ने समेत प्रतिबद्धता जनाए ।

जिल्ला न्यायाधीश एवम् प्रमुख निर्वाचन अधिकृत कैलास केसीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको र ७६ प्रतिशत मतदाताले मताधिकारको प्रयोग गरेको बताउँदै दोस्रो चरणको निर्वाचनका लागि आयोगको तर्फबाट सबै तयारीहरू पूरा भएको बताए । केसीले नागरिक मतदान गर्न आतुर रहेको र निर्वाचनको मिति सारेकोमा आम नागरिकको गुनासो रहेको प्रतिक्रिया दिए ।

निर्वाचनलाई कसरी स्वच्छ र स्वतन्त्र एवम् निष्पक्ष तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ विभिन्न संस्थाहरूको सहकार्यमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले निर्वाचनका लागि सुरक्षा व्यवस्था दुरूस्त राखिएको र सुरक्षा टोलीलाई सबै निर्वाचन क्षेत्रमा परिचालन गरिएको बताउँदै जिल्लाको सुरक्षामा कमी आउन नदिनेसमेत प्रतिबद्धता जनाएका थिए ।


नारायण पराजुली