स्याङ्जामा राजनीतिक दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

यही मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा स्याङ्जामा प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले आचारसंहिताको उल्लङ्घन गरेका छन् ।

निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लङ्घन भएको भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

क्षेत्र नं २ को वालिङमा नेपाली काङ्ग्रेसले सार्वजनिक शौचालयमा चुनाव प्रचारप्रसारको लागि कार्यालय स्थापना गरेको र कालिगण्डकी गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यक्रम गरेको भनी उजुरी परेको बताउँदै सम्बन्धित उम्मेदवारसँग यस विषयमा कुरा भएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत थम्मनसिङ् गौतमले बताए ।

निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले यस्तो कार्य गर्न प्रतिबन्ध लगाएको छ । निर्वाचन आचारसंहिताको परिच्छेद २ को उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्याक्तिले पालना गर्नुपर्ने आचरणको (झ) मा निर्वाचन प्रचारप्रसारको लागि धार्मिक, सांस्कृतिक, परातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन नहुने उल्लेख छ ।

वालिङमा बाम गठबन्धनले स्वागत द्वारमा आफ्ना उम्मेदवारको व्यानर राखेको छ भने सिर्द्घार्थ राजमार्गको बयरघारी बजार क्षेत्रमा नेपाली काङ्ग्रेसले झण्डाको तोरण बनाएर सड्क वारपरपार टाँगेको छ ।

जिल्ला समन्वय समितिको हलमा बसेको सर्वदलीय बैठकमा दलहरूले आचारसंहिता विपरीतका कार्यहरू नगर्ने र यदि कहिँकतै त्यस प्रकारका कार्य भएमा त्यस्ता गतिविधि तत्काल रोक्ने बताए पनि कार्यान्वयन भने गरेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी महेश आर्चायले आचारसंहिता उल्लङघनको विषयमा दलहरूलाई गम्भीर हुन आग्रह गर्दै निर्वाचनको माहोललाई शान्तिपुर्ण बनाउन सबैले भुमिका खेल्नुपर्ने बताए ।

1

1

1

1


हिमलाल पराजुली