स्नेह केन्द्रका महिला कर्मचारीहरुसँग यौनजन्य दुर्व्यवहार

  ०८१ असार १० गते

Sneh Kendraमहादेवा गाउँपालिका-१ चिम्टीमा सञ्चालित स्नेह केन्द्र (महिला मैत्री सुरक्षित स्थल) मा कार्यरत महिला कर्मचारीहरूसँग सोही ठाउँस्थित सरदार टोलका २५ वर्षीय इनर सरदार, २५ वर्षीय अर्जुन सरदार, १९ वर्षीय किशोर सरदार र १८ वर्षीय रामचरण सरदारले ०८१ असार ९ गते मध्यराति यौनजन्य दुर्व्यवहार गरेको भन्दै पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा असार १० गते उजुरी गरेका छन् ।

आगलागी पीडित र प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्थापना भएको स्नेह केन्द्रको ढोकामा आरोपितहरूले खुट्टाले हिर्काउँदै कार्यरत मनोविमर्शकर्ता तीन जना महिला कर्मचारीहरूलाई अश्लिल र अपमानजनक भाषा प्रयोग गरी दुर्व्यवहार गरेको पीडितहरूले बताउनु भयो । पीडितहरूका अनुसार मादक पदार्थ खाएका आरोपितहरूले राति साढे ११ बजे ढोका खोल्न दवाव दिएको, मौखिक यौनजन्य दुर्व्यवहार गर्दै इच्छाविरुद्धको यौनजन्य प्रस्तावहरू राखेका थिए ।

प्रहरी चौकी बथनाहाबाट तत्कालै पुगेका दुई प्रहरीलाई समेत आरोपितहरूले आक्रमण गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले पीडितहरूलाई सुरक्षा दिएको स्नेह केन्द्रकी इन्चार्ज रञ्जना चौधरीले बताउनु भयो । असार १० गते इन्सेक प्रतिनिधिको कार्यालय राजविराज आएका पीडितहरूले आरोपितहरूलाई कारबाही र स्नेह केन्द्रको सुरक्षाको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

त्यसपछि इन्सेकका सदस्य बैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलसहित पीडितहरू र गाउँलेको टोलीले जिल्ला प्रहरी कार्यालय पुगेर एसपी गजु सिद्दी ब्रजाचार्यसँग भेंटी शान्ति सुरक्षा र घटनाका दोषीहरूमाथि आवश्यक कारबाहीका लागि माँग गर्नुभयो । एसपी ब्रजाचार्यले घटनाको अनुसन्धान र दोषीमाथि कारबाही गरिने प्रतिबद्धता जनाउनु भयो ।

वैशाख १८ गते भएको भिषण आगलागीले प्रभावित गर्भवती तथा सुत्केरी, हिंसा पीडित महिला, बालबालिका र ज्येष्ठ नागरिक महिलाको खानपान, रहनसहन, मनोपरामर्शका लागि ओरेक नेपालले महादेवा गाउँपालिकासँग समन्वय गरेर स्नेह केन्द्र सञ्चालनमा ल्याएको हो ।
1.

2. Sneh Kendra


मनोहरकुमार पोखरेल