स्थायी डम्पिङ साइट नहुँदा फैलियो दुर्गन्ध : स्थानीयबासीलाई सास्ती

  ०८१ वैशाख ९ गते

आर्थिक वर्ष ०७१/७२ सालदेखि चन्दननाथ गाविस नगरपालिका भएको थियो । चन्दननाथ नगरपालिकामा भएको करिब एक दशक पुग्यो । त्यतिबेला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल हुनु हुन्थ्यो । त्यो बेलादेखि नै नगरपालिकाको फोहोर व्यवस्थापनका लागि छलफल हुने गरेको थियो ।

स्थायी डम्पिङ साइटका विषयमा छलफल नभएको होइन । तर, नगरपालिका स्थापना भएको करिब एक दशक बित्न लाग्दा पनि अहिलेसम्म त्यही स्थायी डम्पिङ साइट र फोहोर व्यवस्थापनको कुरा हुने गरेको छ ।
सङ्घीय संरचना अघिदेखि नै तत्कालीन सरकारले महत, चन्दनाथ, कार्तिकस्वामी र तलिउम गाविसलाई गाभेर चन्दननाथ नगरपालिका बनाएको थियो ।

०७४ को स्थानीय तहको चुनावमा नगरपालिकामा कान्तिका सेजुवाल नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा निर्वाचित हुनु भयो । अहिले उहाँ प्रतिनिधिसभा सांसद हुनु हुन्छ । उपप्रमुखमा माओवादी केन्द्रका तर्फबाट अप्सरादेवी न्यौपाने महत निर्वाचित हुनु भयो । यस्तै, १० ओटा वडामा वडाध्यक्ष पनि आउनु भयो ।

पाँच वर्षको पहिलो कार्य अवधि पाएका चन्दननाथका जनप्रतिनिधिले धेरै विकास निर्माणका काम गरेको दाबी गर्ने गरेका छन् । तर, उहाँहरू नगरपालिकाको फोहोर व्यवस्थापन नै नगरी बिदा भए । फोहोर व्यवस्थापनमा जनप्रतिनिधिदेखि त्यतिबेलाका कर्मचारी असफल नै भए ।

उहाँहरूको कार्यकालमा फोहोर व्यवस्थापनका लागि चन्दननाथ नगरपालिका– ५ रिठेगुणी र २ नम्बर वडाको भण्डारीवाडा गाउँमाथिको जंगल दुनैदुनामा अस्थायी डम्पिङ साइट बनाए । रिठेगुणीको डम्पिङ साइट त्यतिबेला उहाँहरूकै कार्यकालमा बन्द भइसकेको थियो । दुनैदुनामा भने फोहोर फाल्दै आए पनि दुई महिनादेखि त्यहाँका नागरिकले फोहोर फाल्न दिएका छैनन् ।

आर्थिक वर्ष ०७१/७२ देखि चालू आर्थिक वर्ष ०८०/८१ सम्म नगरपालिकामा १२ जना प्रमुख प्रशासकीय अधिकृत भए । सङ्घीयतापछि ०७४ मा पहिलो निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएपछि नगरपालिका प्रमुख राजसिंह कठायत र उपप्रमुख रामदेवि खड्का दोस्रो स्थानीय तह ०७९ मा निर्वाचित भए पनि कार्यकालको करिब दुई वर्ष बित्दै छ । वडाध्यक्षसहित अन्य जनप्रतिनिधि पनि छन् । तर, उहाँहरूले पनि नगरपालिकाको अहिलेसम्म स्थायी डम्पिङ साइटको व्यवस्थापन गर्न सकेका छैनन् ।
नगरपालिकाभित्रका साना–ठुला बजार क्षेत्रमा जताततै फोहोर छ । दुर्गन्ध फैलिएको छ । नगरपालिकाले दैनिक बजारको फोहोर उठानुपर्ने हो । तर, फोहोर उठाएको छैन । फोहोर व्यवस्थापन हुन सकेको छैन । स्थानीयबासीलाई सास्ती भएको छ । फोहोर व्यवस्थापन नभएको भन्दै नागरिकले गुनासो गर्ने गरेका छन् । शुल्क लैजाऊ, फोहोर उठाऊ भन्दा पनि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको व्यापारीले गुनासो गर्ने गरेका छन् ।

यहाँको सदरमुकाम खलंगा अर्थात् चन्दननाथ नगरपालिकामा विभिन्न धार्मिक, सास्कृतिक, राजनीतिक सभा सम्मेलन हुन्छन् । यही वैशाख १३ गतेदेखि कृषि पर्यटन महोत्सव हुदैछ । देशभरका सास्कृतिक कलाकार जुम्ला आउदै छन् । जुम्ला हुदै मुगुको राराताल पनि यसै चन्दननाथ नगरपालिका हुदै जाने गर्दछन् । तर यहाँको नगरपालिका भने निकै दुर्गन्धित छ ।

फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइट नहुँदा फोहोर उठाएर पनि कहाँ फाल्ने नगरपालिका सरसफाइ कर्मी अक्क न बक्क हुने गर्दछन् । नगरपालिकामा फोहोर उठाउने सरसफाइकर्मी कर्मचारी, गाडीघोडा सबै छन् तर, फोहोर फाल्ने डम्पिङसाइट छैन ।
नगरको चुनौती भनेकै खलंगाको फोहोर व्यवस्थापन हो । यही फोहोर व्यवस्थापन नहुँदा जनप्रतिनिधिदेखि कर्मचारी असफल भएको नागरिक अगुवा राजबहादुर महतको भनाइ छ । बजारभरि जताततै फोहोर नै फोहोर देखिन्छ । नगरपालिकाको फोहोर उठाउन राष्ट्रिय दिवस, मेला पर्व कुर्नुपर्ने उहाँले बताउनुभयो  ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. राजिव शाहका अनुसार फोहोर व्यवस्थापन नहुदा यसबाट विभिन्न किसिमका रोग फैलिने डर हुन्छ । यहाँको अस्पतालबाट पनि दैनिक एक क्विन्टल जति फोहोर निस्किन्छ । यसलाई कहाँ व्यवस्थापन गर्ने हामीलाई पनि समस्या भएको छ । फोहोर व्यवस्थापन गर्नुपर्ने नगरपालिकाले हो । तर नगरपालिका स्थायी प्रकृति डम्पिङ साइटको व्यवस्थापन नगर्दा समस्या भएको छ ।

चन्दननाथमा दैनिक करिब ४० क्विन्टल फोहोर निस्किन्छ । स्थानीयले दुनादुनैमा फाल्न नदिएपछि तत्कालका लागि फोहोर सम्बन्धित वडामै व्यवस्थापन गरिने र बजार क्षेत्रको फोहोर राजासिममा फाल्ने व्यवस्थापन गरिएको छ । यो पनि दीर्घकालीन स्थायी प्रकृतिको डम्पिङ साइट होइन । स्थायी डम्पिङ साइट नहुँदासम्म फोहोर व्यवस्थापनमा चुनौती नै देखिएको छ ।  ‘दुनादुनैमा अस्थायी डम्पिङसाइट थियो । त्यही नगर क्षेत्रको फोहोर उठाएर त्यही फाल्ने गरेका थियौँ । तर, त्यहाँका स्थानीयले दुई महिनादेखि फोहोर फाल्न नदिएकाले अहिले निकै समस्या भएको छ,’ सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले भन्नुभयोे, ‘स्थायी डम्पिङ साइटको व्यवस्थापन नहुँदासम्म यस्तो समस्या हुँदै जाने देखिन्छ । अहिले सम्बन्धित वडा र बजार क्षेत्रको राजासिममा फोहोर फाल्ने अस्थायी व्यवस्थापन भएको छ ।’

Photo20240421Jumla (3)

Photo20240421Jumla (1) Photo20240421Jumla (2)


मानदत्त रावल