स्थानीय स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा अति आवश्यक औषधि अभाव भएको छ । खरिद प्रक्रियामा भएको ढिलाइले दुर्गम गाउँका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको हो । सरकारी स्वास्थ्य संस्थामा औषधि नभएपछि उपभोक्ता भने निःशुल्क पाइने औषधि निजी क्लिनिकहरूमा खरिद गरेर उपभोग गर्न बाध्य भएका छन् ।

ढुवानिका लागि टेण्डर प्रक्रियामा ढिलाइ भएकाले जिल्लाका दुर्गम गाउँमा औषधिको अभाव भएको हो । अधिकांश स्वास्थ्य चौकीहरूमा २० देखि २२ प्रकारका मात्र औषधिहरू उपलब्ध हुने गरेको गाम्नाङगार स्वास्थ्य चौकीका प्रमुख मधुरेन्द्र सिन्हाले बताए । सबै प्रकारका औषधि गाउँमा नपाइने उनको भनाइ छ ।

आवश्यक औषधि नहुँदा बिरामीहरूलाई चेकजाँच मात्रै गरेर स्वास्थ्यकर्मीहरूले फिर्ता पठाउने गरेको आरोप लगाएका छन् ।

औषधि अभाव भएको विषय सही नभएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मोहम्मद मन्सुरले दावी गरे । ढुवानी भएर वितरण भइसकेको मन्सुरको भनाइ छ । दुर्गम गाउँमा भने औषधि अभाव भएको भन्दै सेवाग्राहीले रित्तो हात फर्किनु परेको रावादोलुका स्थानीय खुतबहादुर खत्रीले बताए ।

 


शिवप्रसाद ढुङ्गाना