स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्धती विषयक अन्तरक्रिया कार्यक्रम सुरु

  ०८० माघ ९ गते

राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयको आयोजनामा स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्धती विषयक अन्तरक्रिया कार्यक्रम ०८० माघ ८ गते चरिकोटमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धरले यस कार्यक्रमले अधिकारबाट वञ्चितीकरणमा परेका समुदायका सवाल पहिचान गरी आगामी कार्यक्रममा समावेश गर्न र उनीहरूलाई मानवोचित व्यवहार गर्दै उनीहरूको आवश्यक्तामा कार्य गर्न प्रोत्साहित गर्ने आशा व्यक्त गर्दै मानव अधिकार हनन् हुँदा पीडक पक्षको आश्रीत सन्ततीको उचित व्यवस्थापन गर्ने जिम्मा राज्यको हुने हुँदा त्यसतर्फ ध्यान दिन आयोग समक्ष आग्रह गर्नुभयो ।

उद्घाटन सत्र कार्यक्रमको सभाध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगको कामु सचिव मुरारीप्रसाद खरेलले नागरिक तथा राजनीतिक अधिकार नागरिकले प्राप्त गरेको अवस्था रहेको भन्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको एकै प्रकारको सन्देश सबै तहका सरकारमा पुर्‍याउने उद्धेश्यले अधिकारमुखि पद्धति विकास गर्दै तालिम श्रोत पुस्तिका निर्माणमा लागेको बताउनु भयो ।

कार्यक्रमको छलफल सत्रमा विशेषज्ञ तथा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले नागरिकले सजिलै छुन सकिने सरकार भनेकै स्थानीय सरकार भएकोले अन्य सरककारसँग समन्वय, सहकार्य गर्दै प्रयाप्त एकल अधिकार, स्थानीय स्वायत्त शासन ऐनलाई जनताले अनुभूति गर्ने, मानव अधिकार मैत्री कानुन निर्माण र कार्यान्वयनमा लाग्न र भएका असल अभ्यासलाई प्रचारमा लैजान सक्नुपर्ने बताउनु भयो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिमा समेत ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई अगाडि बढाउँदै अध्यक्ष डा. अर्यालले स्थानीय सवायत्त शासन ऐन, राष्ट्रिय मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना, विश्वव्यापी पुनरावलोकन (तेश्रो चक्र) बाट प्राप्त सिफारिस कार्यान्वयन चक्र, मानव अधिकार मैत्री विकास अवधारणाका पक्षहरूबारे प्रकाश पार्नुभयो ।

उद्घाटन सत्रको कार्यक्रम भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत, सहयोगी निकायका राम तिवारी, राष्ट्रि मानव अधिकार आयोगका अनिस कुमार पौडेल, राष्ट्रि मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख रेवा रेग्मी लगायतले कार्यक्रमको उद्धेश्यले बारे बताउनुभएको थियो ।

उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाको निर्वाचित जनप्रतिनिधि तथा राष्ट्र सेवक, जिल्लाका अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी लगायत कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।

Photo_080-10-8_Dolakha2

Photo_080-10-8_Dolakha1

Photo_080-10-8_Dolakha


उद्धव पोखरेल