स्थानीय र प्रहरीबिच भएको झडपमा एकको मृत्यु, आठ जना घाइते

  ०७६ असार १५ गते

इश्वरपुर नगरपालिकास्थित बाँके चोकमा प्रहरी र स्थानीय बिच असार १५ गते झडप हुँदा प्रहरीको गोली लागेर इश्वरपुर नपा–१३ श्रीनगरका २७ वर्षीय सरोज सिंह भनिने देवन महतोको मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको थियो ।

झडपमा इश्वरपुर नगरपालिकाका वडा अध्यक्ष ३४ वर्षीय रामकरण महतो, २६ वर्षीय राजकुमार महतो र ३४ वर्षीय रेखा मण्डललगायत आठ जना घाइते भएका सांसद प्रमोद साहले बताए ।

घाइतेमध्ये रेखालाई बयलवास स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि वीरगंज लगिएको उनले जानकारी दिए ।

सर्लाही र महोत्तरीको सीमानामा रहेको बाँके नदीमा बालुवा र गिटी निकाल्ने क्रममा भएको खाल्डोमा परी स्थानीय १२ वर्षीय अमित रायको असार १४ गते मृत्यु भएपछि आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेको हो ।

३० फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएका बालक रायको शव असार १५ गते डोजरले निकालेर स्थानीयले पूर्व पश्चिम राजमार्ग अबरूद्ध गरेका थिए ।

स्थानीयले सडकमै बालकको शव लिएर दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रर्दशन गरेपछि बाटो खुलाउने क्रममा झडप भएको संसद साहले बताए ।

स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले हवायफायर गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराइले बताए ।


बुधन साह