स्थानीय युवा र प्रहरीबीच झडप, सातजना प्रहरी घाइते

  ०७८ कात्तिक १ गते

स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सातजना प्रहरी घाइते भएका छन् ।

मुसिकोट नगरपालिका–५ बागबजारमा ०७८ असोज २९ गते राती भएको झडपमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई ३१ वर्षीय कोमलराज बोहरासहित सातजना प्रहरी घाइते भएका हुन् ।

घाइते बोहरालाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कपिलजङ्ग शाहीले बताउनुभयो ।

उहाँका अनुसार झडपमा प्रहरी हवल्दार ३६ वर्षीय कालीबहादुर बोहरा, प्रहरी जवान २८ वर्षीय लक्ष्मण गुरूङ, ३१ वर्षीय बोधिल कामी, ३० वर्षीय भिमबहादुर केसी, २८ वर्षीय सञ्जिब नेपाली र २६ वर्षीय तिलक वली सामान्य घाइते रहेका छन् ।

सामान्य घाइते भएकाहरूको उपचार सदरमुकाम खलङ्गास्थित साझा अस्पतालमा गरिएको डाक्टर दिपक पुनले जानकारी दिनुभयो ।

असोज २९ गते राती मुसिकोट नगरपालिका–५ बागबजारमा पार्किङ्ग गरेर राखिएको रा १ ख २३९२ नम्बरको ट्रकमा ढुङ्गा र बियरको बोतल प्रहार गरी सिसा फुटाएको गुनासोका आधारमा घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोलीले स्थानीय युवाहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण भएर मुठभेडको अवस्था बनेको इन्स्पेक्टर शाहीको भनाइ छ ।

यस्तै घटनामा संलग्न भएको आरोपमा ६ जना युवालाई प्रहरीले गिरफ्तार गरेको छ भने चारजना फरार रहेका छन् ।

गिरफ्तार पर्नेहरूमा मुसिकोट नगरपालिका –५ का २० वर्षीय नरेश पुन मगर, वडा नम्बर १ का १८ वर्षीय राजनप्रकाश गिरी, सोही ठाउँका २० वर्षीय आकाश परियार, २५ वर्षीय हरिबहादुर घर्ती, वडा नम्बर १० का २४ वर्षीय खडानन्द केसी र रूकुम पुर्वको भुमे गाउँपालिका घर भएर हाल मुसिकोट नगरपालिका –५ बस्ने २३ वर्षीय मर्कुश पुन मगर रहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

घटनाका आरोपित मुसिकोट नपा–५ का १९ वर्षीय धनिराम नेपाली, सोही ठाउँका २० वर्षीय निसान पुन मगर, २० वर्षीय विकास परियार र वडा नम्बर १ का २० वर्षीय सोहिल विक फरार रहेको र उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।


मनिषा केसी